काठमाडौँ, १३ बैशाख । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार भारी वर्षाका कारण दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो ।
अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो झरेको छ । यसैगरी, मुरुका दुई स्थानमा पहिरो झरेको छ भने पहिरोकै कारण धाउन्ने सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ ।
भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको र मौसममा सुधार नआएसम्म यात्रा गर्दा जोखिम हुने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रहसमेत प्रहरीले गरेको छ ।






