तनहुँ, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका छन् ।
पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम अन्तर्गत शनिवार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजा र राजसंस्था कुनै पार्टीको नहुने भन्दै उनले राजसंस्थाको पनि कुनै पार्टी नहुने बताए । राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको उनले बताए । राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको उनको भनाइ थियो ।
उनले भने, ‘राप्रपा निर्वाचनमा नगएको भए के हुन्थ्यो ? । राप्रपा निर्वाचनमा नगएको भए आजको राजनीतिक परिदृश्य र संसदीय मञ्चबाट राप्रपा र राजसंस्थाको पक्षपाती शक्तिको हालत के हुन्थ्यो ? आफुलाई राजसंस्थावादी भन्नेहरुले राप्रपा भन्ने अस्तित्वमै नरहोस् भन्ने चाहेका हुन् ? संसदमा राजसंस्थाको एजेण्डा राप्रपाकै कारणले घन्किरहेको छैन ?’





