काठमाडौँ, १२ भदौ । नेपाल वायुसेवा निगमको न्यारोबडी ‘सगरमाथा’ तीन दिनमै दोस्रोपल्ट मंगलबार ‘ग्राउन्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । उक्त विमानको एउटा हाइड्रोलिक बनाउनुपर्नेमा नबिग्रिएको अर्को हाइड्रोलिक प्रणाली खोल्दा आइपरेको समस्याले उडान रद्द हुन पुगेको हो ।
न्यारोबडी ‘सगरमाथा’ १५६ यात्रु लिएर मंगलबार बिहान ११ बजे काठमाडौंबाट हङकङ उड्ने तयारीमा थियो । ‘उडान अचानक रद्द भएपछि काठमाडौंबाट हङकङ जानुपर्ने यात्रुलाई दिनभर र्याडिसनको लाउन्जमा राख्यौं, बेलुकी गौशाला आसपासका होटलमा व्यवस्था मिलायौं,’ निगमका कार्यकारी अध्यक्षको सचिवालयले भन्यो, ‘उताबाट फर्किने ४२ यात्रुलाई पनि होटलमै राख्नुपर्ने भएको छ । जरुरी हुनेलाई अरू विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रबन्ध मिलाइँदै छ ।’
शनिबार राति १२ बजे ‘ग्राउन्डेड’ भएको न्यारोबडी ‘सगरमाथा’ को मर्मतमा लापरबाही गरिँदा मंगलबारका लागि निर्धारित हङकङ उडान रद्द भएको हो । उक्त विमानको मर्मत न्यारोबडीलाई निगमका इन्जिनियर पवन करवालको टिमले मर्मत गरेको थियो । ‘जसको मर्मत नै नगर्नुपर्ने थियो, त्यही हाइड्रोलिक खोल्दा सिल च्यातियो । त्यसलाई टालटुल पारेर कसकास गरियो । तर त्यो जहाज उत्पादकले स्वीकृत गरेको एसओपी (मापदण्ड) अनुसार थिएन । हाइड्रोलिक आयल चुहियो,’ मर्मतमा सहभागी निगमका एक वरिष्ठ इन्जिनियरले भने । उनका अनुसार हाइड्रोलिकको सिल टाल्न बजारबाट कमसल ‘ग्लु’ ल्याइएको थियो, जुन सूचीकृत सामान पनि थिएन । त्यसपछि निगमकै कुनै प्राविधिकले नियमनकारी निकाय फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स विभागमा उजुरी दिएका थिए ।
विभागका एयरवोर्दिनेस इन्जिनियरले हाइड्रोलिकका कारण गम्भीर दुर्घटना हुन सक्ने जनाउँदै जहाजलाई ग्राउन्डेड गरिदिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ‘न्यारोबडीको हाइड्रोलिकसम्बन्धी सिल मर्मत गर्दा अनअथोराइज्ड ग्लुले सिल टाँसेको उजुरी परेका आधारमा प्राधिकरणबाट निरीक्षकहरू जाँचमा गएका थिए,’ उनले भने, ‘जहाज उत्पादकको मापदण्डबाहिर कुनै पनि स्पेयर पार्ट्स वा अरू सहायक सामग्री मर्मत गर्न पाइँदैन । त्यो नियमन गर्ने प्राधिकरणले हो ।’
सहप्रवक्ता भुलका अनुसार प्राधिकरणको सेफ्टी विभागबाट खटिएका निरीक्षकले कागजात झिकाएका छन् । मर्मतमा संलग्न प्राविधिकलाई पनि बोलाइएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यारोबडी ‘सगरमाथा’ ग्राउन्डेड भएपछि हङकङ जाने यात्रुलाई अर्को न्यारोबडी ‘लुम्बिनी’ ले मंगलबार राति उडाउने प्रबन्ध गरिएको छ । यसबाट ‘लुम्बिनी’ का लागि निर्धारित मंगलबार रातिको दोहा उडान अर्को दिनलाई सारिएको छ । ‘सगरमाथा’ ले भने हङकङबाट फर्केर दुबई उडान गर्ने तालिका थियो । काठमाडौंबाट दोहा उड्न १६४ र उताबाट फर्कन १०४ जनाले टिकट काटेका छन् । यस्तै यहाँबाट दुबई जान २६० र उताबाट फर्कन ८० यात्रु तयार छन् । अलपत्र परेका यात्रुमा सोमबार रद्द दुबईको ‘डिले सेड्युअल’ का समेत छन् ।
अन्तर्राष्ट्रिय नियमअनुसार विदेशमा अलपत्र पर्ने यात्रुलाई पाँचतारे होटलमा राख्नैपर्छ । ‘सुरक्षाका कारण हरेक यात्रुलाई सिंगल कोठा दिनुपर्छ । नेपालमा जस्तो टुरिस्ट होटलका कोठामा २/३ जना खाँदेजसरी राख्न पाइँदैन,’ निगमकै एक अधिकारीले भने ।
निगमले अन्तिम समयमा उडान रद्द गरेका कारण नेपालमा एक यात्रुलाई होटलमा राख्दा सरदर ८ हजार र विदेशमा राख्दा १५ हजार रुपैयाँ अतिरिक्त खर्च गर्नुपर्छ । विमानस्थल आइसकेका र गन्तव्यमा तत्काल पुग्नैपर्ने यात्रुलाई निगमले टिकट किनेर विदेशी वायुसेवाबाट पठाइदिनुपर्ने हुन्छ । यसको समेत हिसाब जोड्दा मंगलबारको उडान गडबडीका कारण निगमले कम्तीमा एक करोड रुपैयाँ गुमाउनुपर्ने निगमको लेखा विभागका एक अधिकृतले बताए ।
विमानस्थलस्थित यात्रु सेवा विभागका एक अधिकारीका अनुसार विमानस्थलमा आइसकेकालाई ‘लाउन्ज’ मा राख्ने र होटल लैजाने काम भइरहेको छ । ‘काठमाडौंमा भएको यात्रु सेवा विभाग र उडान रद्द भएका स्टेसनका कर्मचारीले कतिपयलाई फोनबाटै विमानस्थल नआउन खबर गरिरहेका छन्,’ ती अधिकारीले भने, ‘कति यात्रु विमानस्थलमा आए, कति फर्किए, कति होटलमा बास बसे भन्ने यकिन आँकडा आउन केही दिन लाग्छ किनकि एक सातायता नै हाम्रो उडान प्रभावित भइरहेको छ ।’
निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई–दुई वटा छन् । एउटा वाइडबडी विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीमा अलपत्र छ । अर्को वाइडबडी ‘सी–चेक’ कै लागि बुधबार बेलुकी इटाली पठाइँदै छ । यता आन्तरिक उडानमा रहेका तीन वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा रहेको त्यो पनि नेपालगन्जमा बिग्रिएर अलपत्र छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजको तालिकाअनुसार बेलैमा मर्मतमा नपठाउँदा, पठाए पनि ‘लेटर अफ क्रेडिट’ (एलसी) बेलैमा नखोल्दा, भुक्तानी ढिलाइ गर्दा निगमका एकपछि अर्को उडान रद्द हुने गरेको निगमका कर्मचारीहरूले बताएका छन् । निगमको साखमै असर पर्ने गरी जहाज ग्राउन्डेड हुन थालेको भन्दै उनीहरूले पर्यटनमन्त्री बद्री पाण्डेलाई ध्यानाकर्षण पनि गराएका छन् । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको संस्मरण कृति ‘आधा शताब्दी’ को विमोचन कार्यक्रममा सोमबार मन्त्री पाण्डेले पनि निगम अत्यन्तै नाजुक अवस्थामा रहेको बताएका थिए ।
निगमले दुई वटा वाइडबडी विमान खरिद गर्न ०७४ मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२/१२ अर्बका दरले २४ अर्ब ऋण लिएको थियो । दुवै संस्थालाई त्रैमासिक ४०/४० करोड किस्ता भुक्तानी गर्नुपर्नेमा निगमले वाइडबडीको किस्ता नियमित भुक्तानी गर्न सकेको छैन । सञ्चय कोषका अनुसार निगमले दुई वटा न्यारोबडी र एउटा वाइडबडीका लागि लिएको २२ अर्ब ऋणको साँवा–ब्याजलगायत बुझाउनुपर्ने रकम ३० अर्ब हाराहारी पुगेको छ ।
अर्को एउटा वाइबडीका लागि १२ अर्ब ऋण लगानी गरेको नागरिक लगानी कोषमा पनि निगमले नियमित किस्ता बुझाउन सकेको छैन । निगमकै लेखा विभागको तथ्यांकअनुसार नागरिक लगानी कोषमा निगमले तिर्नुपर्ने साँवा–ब्याजसहित रकम १८ अर्ब नाघिसकेको छ ।
‘नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई बुझाउनुपर्ने जहाजको ऋणको साँवा र ब्याजसहित ४७ अर्ब दायित्व पुगिसकेको छ । ६ वटा चिनियाँ जहाजका लागि नेपाल सरकारबाट लिएको ३ अर्ब ऋण तथा अन्य सरकारी/सञ्चालन खर्चलगायतको ऋणको हिसाब जोड्दा निगम यति बेला ५२ अर्ब ऋण दायित्वमा छ,’ निगमका एक निर्देशकले भने । कान्तिपुर