काठमाडौँ, २५ असार । कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो बस्ने सचिवालय बैठकमा मुख्यगरी तीन वटा विषयमा छलफल हुने जानकारी दिए । ‘सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायतका विषयमा छलफल हुन्छ’, गौतमले भने । उनका अनुसार सचिवालय बैठकले केही नेताको जिम्मेवारीसमेत हेरफेर गर्नेछ ।
जनतालाई डेलिभरी दिनसक्ने सरकार गठन गर्ने भनिएकाले पनि यो पटक सरकारमा काम गर्न सक्ने व्यक्ति छानेरमात्र पठाउने तयारी एमालेले गरेको छ । मन्त्री हुनलाई यिनै मुख्य तीन आधारलाई अपनाएर अघि बढ्ने गौतमको भनाइ छ । एमाले सचिवालयका एक सदस्यका अनुसार सचिवालय बैठकले मुख्य आधार तयार गरेर प्रधानमन्त्रीमा प्रस्तावितलाई बुझाउने छ ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारमा जानेबेला एमालेले १० बराबर एक जनाको अनुपातमा मन्त्री पठाएको थियो । तर यसपटक त्यो मोडल कार्यान्वयन हुने सम्भावना कम छ । उक्त समझदारीमा राजनीतिक स्थिरता र आवश्यक परे संविधान संशोधनसमेत गर्ने उल्लेख भएको नेताहरूले बताउँदै आएका छन् ।