राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण : राष्ट्रपति पौडेल

काठमाडौँ, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । 

नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गरेका छन् । बिदेसिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उनले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।  यस्तै राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणको शुभकामना दिनुभएको छ ।

राष्ट्रपति पौडेलले भनेका छन्, “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु । मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढवा दिनाका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु । द्वन्द्व मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस् । यसका लागि नव वर्ष २०८१ ले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।”

राष्ट्रपति पौडेलले विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ–सफा पृथ्वी बनाउन आह्वान गरे । “नयाँ वर्षमा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने पनि म कामना गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्