काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय मात्र नभएर यो मार्क्सवादी अर्थराजनीतिको मूल मुद्दा बनेर सबैका अघिल्तिर आइसकेको बताएका छन् ।
केन्द्रीय सदस्य विशाल खड्काले लेखेको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पर्यावरणीय संकटलाई मार्क्सवादी कोणबाट समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताएका हुन् । पुस्तकमा खड्काले आठ अर्ब मानिसको साझा पृथ्वी, पर्यावरण र जलवायु परिवर्तनले विश्वभर निम्त्याएको सङ्कटबारे चर्चा गर्नुका साथै यसको समाधानका लागि मार्क्सवादी वैचारिकी नै किन आवश्यक छ भनेर चर्चा गरेका छन् ।
प्रधानमन्त्री दाहालले भने, ‘विकसित मुलुकहरूको मूल ध्येय पर्यावरण जोगाउनुका सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने लेखकको निष्कर्षलाई यसै नकार्न सकिँदैन। त्यसैले लेखकले अविकसित र अल्पविकासशील मुलुकहरूले विकसित मुलुकबाट क्षतिपूर्ति पाउनु उनीहरूको अधिकार हो भन्ने कुरामा जोड दिनुभएको छ । वास्तवमा ठुला शक्त राष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना, जनसङ्ख्याका हिसाबले अतिकम विकसित र विकासोन्मुख मुलुकले व्यर्नुपरिरहेको छ । त्यसैले नेपाल, बंगलादेश, फिलिपिन्स, नाइजेरिया, जिम्बाबे, दक्षिण सुडानजस्ता जोखिमपूर्ण अवस्थामा रहेका मुलुकले विशेष रूपमा क्षतिपूर्तिको माग गर्नैपर्छ र नेपालले त्यसको अगुवाइ गर्नुपर्छ । हामीले हाम्रो भावी पुस्तालाई विरासतमा कस्तो पर्यावरण दिएर जानेछौँ ?’– भन्ने उहाँको संकथनले मलाई निकै संवेदनशील बनायो। हामी मार्क्सवादी भएका नाताले, हामी इतिहासप्रति, हाम्रो वर्गप्रति असाध्यै गम्भीर हुनैपर्छ । र, कोप–२८ को पूर्वसन्ध्यामा म यहाँ तपाईंहरुलाई भन्न चाहन्छु– हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र मेरो नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छ। हामी हाम्रो भावी पुस्ताप्रति पनि त्यति नै संवेदनशील छौँ, जति एउटी आमा आफ्नो बच्चाप्रति हुन्छिन् ।’