वैदेशिक व्यापारमा संकुचन: दबाबमै अर्थतन्त्र

काठमाडौँ, ८ मंसिर । अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्। अर्थतन्त्रका बाह्य सूचकमा सुधार भए पनि आयात, निर्यातसहित  समग्र वैदेशिक व्यापारमा संकुचन आएको छ। चालु आर्थिक वर्षको चार महिनामा कुल वैदेशिक व्यापारमा २४ अर्ब ३९ करोड रूपैयाँले कमी आएको छ। त्यस्तै आयात करिब २० अर्ब रूपैयाँले घटेको छ। कतिपयले यसलाई मन्दीको संकेत पनि भनेका छन्।

विदेशी विनिमय सञ्चिति, रेमिटेन्स आगमनमा वृद्धि, शोधनान्तरमा सुधार, कर्जा प्रवाह बढेर सुधारको संकेत देखिए पनि वैदेशिक व्यापार घट्नु चिन्ताको विषय भएको आर्थिक क्षेत्रका जानकारले बताएका छन्। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन-कात्तिक)को तथ्यांकअनुसार वैदेशिक व्यापारमा ४.१५ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा पनि वैदेशिक व्यापार घटेको थियो। चालु आवको पहिलो चार महिनामा आयातमा ३.७९ प्रतिशत र निर्यातमा ७.६८ प्रतिशतले कमी आएको छ। नेपालको अर्थतन्त्र आयातमा आधारित रहेकाले आयात घट्नु भनेको उपभोग घट्नु हो। उपभोग घट्नु चिन्ताको विषय भएको अर्थशास्त्री डा. अच्युत वाग्लेले बताए।

‘आयात घट्दा आर्थिक वृद्धिमा असर गर्छ,’ उनले भने, ‘यसले राम्रो संकेत गर्दैन।’ विकास निर्माणसँग सम्बन्धित वस्तुको आयातमा कमी आएको हो भने पनि त्यसले पुँजीगत खर्च कम भएर अर्थतन्त्रमा असर पर्ने वाग्लेले बताए। आयात र निर्यात दुवैको हिस्सा घटेको छ। पोहोर साउनदेखि कात्तिकसम्म चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रूपैयाँको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोडको वस्तु आयात भएको छ।

दसैं, तिहार, छठलगायत पर्वको अवसरमा वस्तुको खपत बढेर आयात बढ्नुपर्नेमा खपत नै कम भएकाले आयात घटेको हो। गत आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापारमा व्यापक गिरावट आएको थियो। गत आवको पहिलो चार महिनामा वैदेशिक व्यापारमा करिब २० प्रतिशतले कमी आएको थियो। त्यस्तै आयातमा १८ प्रतिशतले कमी आएको थियो भने निर्यात ३३ प्रतिशतले घटेको थियो। गत वर्ष घटेकाले यो वर्ष सुधार हुने अपेक्षा गरिए पनि संकुचन देखिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णयमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका

काठमाडौँ, ५ बैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको बताएका

काठमाडौँ, ५ बैशाख ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला कसैका लागि पनि हारजितको विषय