पहाडमै पाइन थाले डेंगीका बिरामी

कञ्चनपुर, २७ भदौ । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेंगीको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेंगी सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएको छ । उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगीका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेंगी देखापरेको छ ।

“पहाडी क्षेत्रमा पहिला डेंगी, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिने गरेका थिएनन्,” सम्पर्क व्यक्ति जोशीले भने, “पहाडी क्षेत्रमा सडकको व्यवस्था भएसँगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थाले, त्यसमाथि जलावायु परिवर्तको असरसमेत पर्‍यो ।” पहिला सरसामान ल्याउनका लागि वर्षमा दुई/तीनपटक मात्रै पहाडी क्षेत्रका बासिन्दा तराई झर्ने गरेको उल्लेख गर्दै उनले पहिला औलो र डेंगीको त्यति खतरा नभएको बताए । यातायातका साधनमा चहलपहल बढेसँगै लामखुट्टेले सार्ने रोगको जोखिमसमेत उत्तिकै बढेको उनले बताए । पहाडी क्षेत्रमा विशेषगरी खोँच, उपत्यका, नदी तथा खोलामा बढी न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने गरेको उनको भनाइ छ ।

“स्वास्थ्य निर्देशनालयले डेंगी सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरेको छ,” उनले भने, “आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ । पहाडीसहित तराईका जिल्लामा  जनचेतना फैलाउने कार्यसँगै डेंगी सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ ।” उनका अनुसार डेंगीको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ । त्यसपछि बिस्तारै घट्दै जान्छ । दुई–तीन वर्षअघिदेखि मात्रै डेंगीको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । त्यसअघि डेंगीको सङ्क्रमण सुदूरपश्चिममा निकै कम थियो ।

डेंगी ज्वरो भाइरसका कारण लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार छैन । अस्पताल पुगेका बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ । एडिस एजिप्टी र एडिस एल्वोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट डेंगी सार्ने गर्दछ । डेंगी सार्ने लामखुट्टेका गमला, फूलदानी, कुलर, टायरलगायतको सफा पानीमा लार्भा बस्ने भएकाले समय–समयमा पानी फाल्ने कार्य गर्नु पर्दछ । गमलाको प्लेट, फूलदानी, कुलर, टायरमा जम्मा भएको पानी कम्तीमा हप्तामा एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान घरबाहिर जाँदा लामखुट्टले नटोकोस् भनेर सावधानी अपनाउनुपर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा