नेकपा (एमाले)को वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छन् ।
काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिइन् । मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माता मात्र जिम्मेवार भएर नपुग्ने उल्लेख गर्दै उनले हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने धारणा राखिन् । शिक्षा प्रणालीको सुधारसँगै समाजमा पठन संस्कृतिको विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
उनले भनिन्, ‘मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीति निर्माताहरू मात्र जिम्मेवार भएर पुग्दैन । समाजका हरेक पक्ष र प्रत्येक नागरिकको पनि उत्तिकै जिम्मेवारी हुन्छ । नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्छ । हाम्रो शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी विवेकशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यम बनाउनुपर्छ। विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षण विधि, पाठ्यक्रम र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्छ ।’






