राजविराज अस्पताल घटनाको दोषीमाथि कारबाही गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको सुत्केरी घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीमाथि छानबिन भइरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा मन्त्री मेहताले घटनाका सम्बन्धमा मन्त्रालयले चालेका कदमबारे सदनलाई जानकारी गराएकी हुन् । भदौ २५ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले राजविराजको अस्पताल परिसर बाहिर एक आमाले बच्चा जन्माएको घटनाबारे प्रश्न उठाएका थिए । सोही घटनालाई लिएर स्वास्थ्य मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो ।

मन्त्रीको मेहताले मन्त्रालयले घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.सुपर्भा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय एथिकल कमिटी गठन गरेको जानकारी दिइन् । समितिले स्थलगत छानबिन गरिसकेको मन्त्रीले जानकारी दिइन् । घटनाका बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई छानबिन सुरु गरिएको उनले जानकारी दिइन् ।

प्रारम्भिक विवरण अनुसार, प्रसूति व्यथा लागेर आएकी ३० वर्षीया बबिताकुमारी पासवानलाई समयमै सेवा नदिएर अस्पतालको बेड नम्बर २४ बाट बाहिर पठाएको पाइएको छ । अस्पतालले स्पष्टीकरण पेस गरिसकेको मन्त्रीले बताइन् । 

मन्त्री मेहताले सुरक्षित मातृत्व, संस्थागत प्रसूति र आमा तथा नवजात शिशुको स्वास्थ्य सेवालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्, ‘कुनै पनि गर्भवती महिलाले जोखिम मोलेर घरमै प्रसूति गराउनुपर्ने अवस्था नआओस् भन्नेमा हामी सचेत छौँ।’

सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क रहेको र यातायात खर्चसमेत सरकारले उपलब्ध गराउँदै आएको जानकारी दिँदै मन्त्री मेहताले कुनै पनि शुल्क माग्नु वा सेवा दिन अस्वीकार गर्नु कानुन विपरीत भएको र त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कारबाही गरिने प्रतिबद्धता जनाइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार

काठमाडौँ, २६ भदौ । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले

काठमाडौँ, २६ भदौ । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २६ भदौ । रूपन्देहीको भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपालीसहित छ जना पक्राउ परेका छन् । लुम्बिनी प्रदेश