राजविराज अस्पताल घटनाको दोषीमाथि कारबाही गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको सुत्केरी घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीमाथि छानबिन भइरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा मन्त्री मेहताले घटनाका सम्बन्धमा मन्त्रालयले चालेका कदमबारे सदनलाई जानकारी गराएकी हुन् । भदौ २५ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले राजविराजको अस्पताल परिसर बाहिर एक आमाले बच्चा जन्माएको घटनाबारे प्रश्न उठाएका थिए । सोही घटनालाई लिएर स्वास्थ्य मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो ।

मन्त्रीको मेहताले मन्त्रालयले घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.सुपर्भा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय एथिकल कमिटी गठन गरेको जानकारी दिइन् । समितिले स्थलगत छानबिन गरिसकेको मन्त्रीले जानकारी दिइन् । घटनाका बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई छानबिन सुरु गरिएको उनले जानकारी दिइन् ।

प्रारम्भिक विवरण अनुसार, प्रसूति व्यथा लागेर आएकी ३० वर्षीया बबिताकुमारी पासवानलाई समयमै सेवा नदिएर अस्पतालको बेड नम्बर २४ बाट बाहिर पठाएको पाइएको छ । अस्पतालले स्पष्टीकरण पेस गरिसकेको मन्त्रीले बताइन् । 

मन्त्री मेहताले सुरक्षित मातृत्व, संस्थागत प्रसूति र आमा तथा नवजात शिशुको स्वास्थ्य सेवालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्, ‘कुनै पनि गर्भवती महिलाले जोखिम मोलेर घरमै प्रसूति गराउनुपर्ने अवस्था नआओस् भन्नेमा हामी सचेत छौँ।’

सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क रहेको र यातायात खर्चसमेत सरकारले उपलब्ध गराउँदै आएको जानकारी दिँदै मन्त्री मेहताले कुनै पनि शुल्क माग्नु वा सेवा दिन अस्वीकार गर्नु कानुन विपरीत भएको र त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कारबाही गरिने प्रतिबद्धता जनाइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६