काठमाडौँ, २६ भदौ । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजेको समयमा बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो ।
कारभित्र नै रहेका एक जनाको जलेर मृत्यु भएको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।
आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । कारमा कसरी आगो लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






