काठमाडौँ, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्छ भन्ने विश्वास रहेको स्पष्ट पारेका छन् ।
आज ललितपुर, नागवहालमा अवस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताए ।
आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको राष्ट्रपति पौडेलको भनाई थियो ।
उनले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकोले उक्त ज्ञानको संसार भर प्रचार प्रसार भइरहेको उल्लेख गर्दै शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताए ।







