काठमाडौँ, १७ बैशाख । बैंकिङ प्रणालीमा लगानीयोग्य अधिक पुँजी (तरलता) थुप्रिँदा नेपाल राष्ट्र बैंकले दैनिक बैंक तथा वित्तीय संस्थाबाट प्रशोचन गरेको छ ।
राष्ट्र बैंकले आज मात्र एक खर्ब २० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका क्रममा प्रणालीबाट ९७ दिने निक्षेप संकलन उपकरणमार्फत प्रशोचन गरेको हो । यसको अघिल्लो दिन अर्थात बुधबार (वैशाख १६) पनि प्रणालीबाट ४० अर्ब निक्षेप संकलन गरिएको थियो । अधिक तरलता कायमै रहेपछि फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिचिएको केन्द्रीय बैंकले जनाएको छ ।
पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार बिहीबार दिउँसो ३ बजे नै सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आउँदो साउन २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोल गर्न सकिने रकम कम्तीमा १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुने जारी सूचनामा उल्लेख छ ।







