काठमाडौँ, २९ जेठ । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । रु ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो ।
आयोजना निर्माणका लागि छ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजना प्रमुख चौधरीले बताए । बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने भएकाले रुख कटान हुने प्रमुख चौधरीले बताए ।
विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट निर्णय भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयानुसार रूखमा छपान कार्य भने सकिएको छ । सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुनसकेको छैन । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्पसमेत मागेका हुन् ।






