भर्खर निर्माण भएको दुईतले घरको स्टोर सँगसँगै बनेको एउटा चिसो छिँडीमा काखमा स्याकिने छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छ । यतिखेर घडीले साढे आठ बजाइसक्यो, झोल भात पाकेर पनि सेलाइसकेको छ ।
शकुन्तलालाई थाहा छ आज उसको लोग्ने अलिकति आश्वस्त भएर, अलिकति रिझिएर आउनेछ । किनभने, शकुन्तलालाई यो पनि थाहा छ कि उसको लोग्ने पियन हरिप्रसाद न्यौपानेको हाकिमले आफ्नी स्वास्नीलाई रिझाएको बेला अलिकति ड्रिंक गर्ने गर्छ । त्यही मौकामा न्यौपानेलाई पनि अलिकति रिझाउँछ ।
यस्तो मौका महिनामा चारपटकभन्दा बढी हुँदैन, बरु घट्छ । कहिलेकाहीँ पाहुना आए पनि हाकिमनीले रक्सीको बोतल निकाल्दिनन् । स्वास्नी रिझाएर लोग्ने दामी रक्सी पिउँछ, स्वास्नी बेस्कनै नखरा पारेर मात्र बोतल खोल्छे । केही त ऊ पनि रिझाउनेहरूले आपसी अनुबन्ध राम्रै बुझेका छन् । यति हो न्यौपाने रिझाइनुको निम्ति रिझाइन्छ ।
यी सबैभन्दा अलग शकुन्तला धेरै कुरा बुझ्छे । परिस्थितिले उसलाई ‘तँ हाँगा–हाँगा हिँड् म पात–पात हिँड्छु’ यस्तो सिकाइसकेको छ । नौ त बजिसक्यो अझ न्यौपाने आउँदैन । भर्खर बस्ती बस्न लागेको यो पाखामा यतिखेर रात हुनुको चकमन्न पर्याप्त भइसक्छ । शकुन्तला निधारमा गाँठो पारेर केही सोच्छे र मन–मनमा आफैसँग वार्तालाप गर्न थाल्छे, एक्लै हुँदा वार्तालाप गर्ने आफैसँग न हो ।
ऊ बोल्छे, त्यस हाकिमको अनुहार त मैले राम्रोसँग देखेकी छैन पनि । अँ ड्रिंक गरेको बेला भने स्वर अलिक चर्को आउँछ । हाकिमनी त मसँग सोझो मुख गरेर बोल्दिन । भान्सासम्म चियाउन पाएकी छु नत्र बाहिर–बाहिरै । कुरा गर्न छोराको बाबुमार्फत । ‘ए बाहुन, आज तेरी दुलहीलाई भनी दे है, कपडा यहाँ झिकिराखेको छु सबै धोइदेओस्’ अथवा ‘यहाँ भान्सामा सामान झिक्या छ, अचार पारेर गइदेओस् ।’ यी यस्तै–यस्तै त हो नि ।
होइन यी हाकिमनी मसँग डराउँछिन् कि क्या ? कुन्नि बा …आ बाबुसमानको हाकिमलाई कसले हेरोस्, हाकिमनीहरू पनि ताल–तालका हुन्छन् । यो छोराको बाबुले एउटै हाकिमकहाँ चार वर्ष चाकरी गरिसक्दा मैले चार हाकिमनीको घरधन्धा भियाइसकेकी छु । पहिले बसेको ठाउँमा हाकिमनी बेसै हो । म पनि भर्खरै गाउँबाट आएकी यहाँको चालामा केही थाहा नाइँ । मालिक खाउँलाजस्तो गरी हेर्थे । मैले त मालिक्नीलाई भनिदिएँ, ‘मालिकलाई चिया पुर्याउन जान्नँ म, यत्रा–यत्रा आँखा खोलेर हेर्छन् ।’
‘होस पुर्या है, तेरो मालिककको बानी राम्रो छैन ।’
यो हाकिमनी त कस्ती छे, हाकिम उस्तै भए भनिदिनुपर्छ, म उस्ती भए मलाई भन्नुपर्छ, घरमा छिर्न पनि नदिने, काम पनि लगाउने ।
गरिबको रूपरङ के छ ? हाकिमनी त सिँगार पारेर बस्छिन्, तर लोग्ने मान्छेलाई त रूपरङ पनि चाहिन्छ होला र ?
ढोका घरक्क उघारेर न्यौपाने भित्र पस्छ । शकुन्तलाको एकान्तता टुक्रिन्छ । दालमोठको एक प्याकेट स्वास्नीतिर फाल्दै भन्छ, “ला ! भोलि छोराले खान्छ ।”
“हाकिमको यतिखेरसम्म गफ सुनिदिएको ज्याला कति हो ?” शकुन्तला व्यंग्य गर्छे । व्याकुल आँखाहरूले स्वास्नीलाई एकपल्ट हेरेर न्यौपाने टुक्रुक्क भुइँमा बस्छ । यो उसको भात खाने मुद्रा हो । छोरालाई सुकुलमा सुताइदिएर शकुन्तला स्टोभ सल्काउँदै भन्छे, “आज के भन्छन् नि हाकिम ?”
“सधैँ जे भन्छ त्यही” भनी न्यौपाने विरक्तिको भाव देखाउँछ ।
“सधैँ जे भन्छ त्यही भन्ने त मलाई पनि थाहा छ नि, थप केही भन्यो कि भनी सोधेकी ?” शकुन्तलाको आवाज छिटो तिखारिन्छ ।
न्यौपाने त्यस्तै व्याकुल आँखाले स्वास्नीलाई हेर्छ, मानौँ याचना गरिरहेछ–विवाद नगर, थाकेको छु । भात खाइसकेर न्यौपाने चुरोट सल्काउँछ र छोराको नजिकै गुडुल्किन्छ ।
धन्धा सिध्याएर शकुन्तला ऊन केलाउन बस्छे र प्रतीक्षा गर्छे एउटा रुटिनबद्ध आदेशको । छोराको बाबु निदाइसक्छ ‘हस् हजुर’ भन्नाको निम्ति पनि उसले जागो बस्नैपर्छ ।
केही छिनपछि भ्यागुताहरूको सामूहिक आवाजलाई चिर्दै भान्सातिरको झ्यालबाट त्यो प्रतिष्ठित आदेश हाकिमनीको पातलो भए पनि उच्चताबोध भएको स्वरमा आउँछ, “ए न्यौपाने ! चनाखा भएर निदा है, काठपात डन्डी यसै छ ।” “हस् हजुर !” त्यसपछि दुवैतिरको झ्याल एकसाथ बन्द हुन्छ । हाकिमनीको जोडले र शकुन्तलाको विस्तारै ।
शकुन्तलाको जीवन एक किसिमको एकरस र विसंगत हुँदै गइरहेको भान शकुन्तलालाई हुन थालेको छ, आजभोलि । चनाखा बस्नु र निदाउनु यी विपरीत अनुभवलाई एकै ठाउँमा मिलाउँदा कस्तो हुन्छ ? यो अप्ठ्यारो विवादमा शकुन्तलाको मनस्थिति जान अनजान अलिकति फँस्छ ।
आज सोच्न थाल्छे, माकुरालाई जालो लाउनलाई सिकायो होला, चराको बचेरालाई त माउले उड्न सिकायो, पुतलीलाई कसले सिकायो ? सोच्न नपाउँदै उसलाई चारथरी मालिक्नीको सम्झनाले चार सुरबाट बिथोल्छन् । शकुन्तला आत्मकेन्द्रित भएर आफैसँग बोल्न थाल्छे, यो हाकिमको घराँ सरेको पनि अब सात–आठ महिना हुँदै छ । ‘यसो घर पनि कुर्, तेरो डेरा बहाल पनि बच्ने’ भनी उनैले ल्याएका हुन् ।
यहाँ सधैँ यी हाकिमनीलाई कराउनुपर्ने किन होला ? यो पनि हुने कुरा हो र ? कि चनाखै बस्नुपर्यो कि निदाउनु पर्यो, जम्मामा ननिँदा भनेको हो । यी हाकिमनीले हामीलाई कुकुर ठानेर यो चिसो छिँडीमा राख्न ल्याइछन् । मालसामान कुर्ने, भान्साको धन्धा गरिदिने, लुगा धोइदिने मान्छे सित्तैँ पाए कसले राख्दैनन् । बस्नलाई अलि ओभानो ठाउँ पाए पनि ए ठिकै छ भन्नु । यो छोराका बाबु निम्छरा भएर यस्तो दुःख पाएको नि । रक्सी खाएको बेला कुराले दंग पार्छ पठाउँछन् । मान्छे दिनदिनै खिइँदै गएको थाहा छैन ।
अब शकुन्तलालाई हाकिमनी र न्यौपाने दुवैसँग झोँक चल्छ । न्यौपानेलाई काँधमा झक्झकाउँदै शुकुन्तला भन्छे, “ए, सानेको बा, कस्तो निदा हो । उहाँ भने हाकिमनीले दिनदिनै चनाखो भएर निदा भन्छिन् । आफू भने घुर्ने म र चनाखो बस्ने ?”
न्यौपाने स्वास्नीलाई माया गर्छ यसले होइन कि ऊ लोग्नेको निम्ति दुःख गर्छे । त्योभन्दा बेग्लै अर्कै केही छ, त्यो न्यौपाने पनि बुझ्दैन । बुझ्नको निम्ति न्यौपाने स्वास्नीलाई प्रेम गर्छ । स्वास्नीको आँखामा सधैँ केही खोजिरहन्छन् ऊ ।
त्यस्तै–त्यस्तै भावपूर्ण आँखाले स्वास्नीलाई हेरेपछि भन्छ, “ल तँ सुत् न म बसूँला …ल आ …।”
हो, यस्तै स्थितिमा शकुन्तलाई लोग्नेप्रति माया लागेर आउँछ । ऊ सोच्छे, यति पनि थाहा छैन उसको लोग्नेलाई कि यहाँ उनीहरू एकजना सुत्न र एकजना जागा बस्न आएको होइन । हाकिमको काठपात कुरेर घरबहाल बचाउनुभन्दा कति–कति महँगो छ सुखको मानो खाएर बिछ्यौनामा पल्टिने, थकानको निद्रा सुत्ने उनीहरूको रात ।
शकुन्तला भन्छे, “के यहाँ हामी एकजना सुत्ने एकजना जागराम बस्ने कबोलमा आएका हौँ ? तपाईंलाई थाहा छ ? यी हाकिमनीले कुकुर ठानेकी छन्, कुकुर । सधैँ राति–राति ए बाहुन चनाखा भएर निदा है भन्नुपर्छ । कुकर जात मात्रै चनाखो भएर निदाउन सक्छ । निदाइराखेको बेला चोर–चकार आए कुकुरले तुरुन्त चाल पाउँछ अनि भुक्छ । के हामी कुकुर हौँ, यहाँ भुक्न आएको ? यस्तो चिसो छिँडीमा के होला यो सानेको हाल ?”
तैपनि विस्फारित आँखाले स्वास्नीलाई हेर्छ । ऊ आँखाबाट करुणा खोल्छ, मात्र करुणा । स्वास्नीको निम्ति ऊसँग कुनै विकल्प छैन । दशौँ हन्डर खाएपछि यही हाकिमले उसलाई काममा झुन्ड्याइदियो, ऊ त्यति जान्दछ ।
ऊ छातीबाट होइन मुखबाट बोलेको जस्तो गरी स्वास्नीलाई सम्झाउँछ, “भौगो तसोतसो सहूँ न त । हिउँदाँ हाकिमले ढलान गर्छु भनेको छ । त्यसपछि तँलाई अन्तै कतै सारूँला ।” शकुन्तलालाई बुझ्न गाह्रो पर्दैन कि उसको लोग्नेले उसलाई साँच्चै मुखबाटै सम्झाइरहेको छ, व्यवहारमा ऊ यति पनि गर्न सक्दैन, हृदयमा माया र प्रेमको अपार सागर नै किन नहोस् ।
स्वास्नीलाई ऊ हवाई महलको कल्पना दिन सक्ने मान्छे होइन, त्यसैले मात्र मुखबाट बोल्छ । उसको औकात नै त्यति हो । त्यस रात, रातको एक बजेसम्म शकुन्तला ऊन केलाएर बस्छे र न्यौपाने निदाउन र चनाखो बस्नुको साधनामा लीन भएर जागराम बस्छ । सायद निद्रा नलाग्नुको कारण अरू पनि हुनसक्छ । शकुन्तला सुत्ने तर्खर गर्छे ।
ऊ त्यो शकुन्तला होइन, जसलाई दुर्वासाबाट अभिशप्त दुष्यन्तहरूले परित्याग गर्ने गर्छन् । न्यौपानेको शकुन्तलालाई यस्तो भय हाल पटक्कै छैन । शकुन्तला आफैसँग बोल्न थाल्छे, होइन, यो हाकिमनीले सधैँ हाकिम बस्ने कोठाको झ्यालको पर्दा हाकिम आउनासाथै लगाइहाल्छिन् । आफू देखापर्ने ठाउँमा भने पर्दा पातलो छ र खुल्लै पनि राख्छिन् । मैले एकपटकसम्म बैठकको अनुहार देख्दिनँ । ‘के यिनी मदेखि साँच्चै डराएकी हुन् त ? हाकिम पनि त त्यस्तो मान्छे होइन होला नि । यिनले मलाई नकचरी, नखरमाउली के नै ठानेकी छिन् हँ ?’
प्रत्युत्तर नपाउँदै ऊ निद्राको पखेटाभित्र पसिसकेकी हुन्छे ।
आज कुनै खास लामो अन्तरालपछि पनि होइन । केही फरक जरुर छ । खेत हुँदो झिलिन्चा देखिन थालेको छ, भ्यागुता कम कराउँछन् र दिउँसो झ्याउँकिरी कराउन थालेका छन् । घाममा संवेदनशीलहरूको दसैँको वास सुँघ्न थालिसकेका छन् । यसबीच खास त्यस्तो केही भएन । साने एकपल्ट निकै साह्रो बिरामी पर्यो बस् । आज, फेरि ऐजन, ऐजन…भएको छ । हाकिम ड्रिंक गर्न थालेका छन् । रिझाएका छन्, रिझिएकी छन् सायद केही रिझाउन । घटीमा एउटा बनारसी साडी ।
आज भारतीय लाहुरे पसेको छ त्यो घरमा । परिणामस्वरूप न्यौपाने अलिकति रिझाएर आउनेछ । सानेलाई एक पुरिया दालमोठ । शकुन्तला ओठको कुनामा हाँस्दै ऊन काट्न बस्छे । उसको रुटिनमा पनि कुनै हेरफेर भएको छैन । ऐजन समयमा ढोका उघारेर न्यौपाने भित्र पस्छ । एक पोका दालमोठ स्वास्नीतिर मिल्काउँछ र भन्छ, “भोलि सानेले खान्छ ।”
सुकुलमा बसी च्युँडो घुँडामा राख्दै सोध्छ, “भात पाको ?”
पाको मात्र होइन, सिङ पनि उम्रिसक्यो । शकुन्तलालाई जीवनको एकरसताले चिथोरेर धेरै घाइते बनाइसकेको छ । ऊ चाहन्छे, कतैबाट यसलाई बिथोलूँ । नयाँ केही होस् न राम्रो नराम्रोजस्तो होस् । “हाकिमले आज के भने ?” चर्को स्वरमा सोध्छे । र, उही मुद्रामा जवाफ दिन्छ, “आज अर्थोक भने ।”
“कस्तो अर्थोक सुनौँ ?” “तँ मुला बाहुन दश क्लाससम्म पुगेकै रहेछस्, चोरचार गरेर भए पनि एसएलसी पास गर् । टाइप सिक् तँलाई म बढुवा गराइदिइहाल्छु नि…।”
कुरा टुंगिन नपाउँदै शकुन्तला आँखा स्थिर पारेर एकपटक न्यौपानेलाई हेर्दै भन्छे, “सानेको बा, तपाईं मान्छे होइन, मैले आजको दिनमा भनेँ भनेँ तपाईं मान्छे होइन । बरु, आफू पनि अलिकति रक्सी घुट्क्याएर कराउनुस् न मेरो छोरा अस्ति निमोनियाले झन्डै खुस्केको, जहानलाई बाथ होलाजस्तो छ, ऊ त्यो स्टोर घरमा सर्छु । केको एसएलसी अहिले ? यो कोठाभन्दा त्यो स्टोर घर सुक्खा छ । त्यति त भन्न नसक्ने तपाईं मान्छे होइन ।”
शकुन्तलाका स्थिर आँखासँग जुधाउन न्यौपानेलाई निकै गाह्रो पर्छ । कि ऊ हिँड्छ कि पल्टन्छ, तर आज त्यसो भएन । न्यौपाने मान्छे, जसले सधैँको भन्दा कडा आवाजमा कराउँछ, “तँ आइमाईलाई के थाहा छ ? मजस्तो सुइँखुट्टे पियन एक्लैले …यामानको हाकिमको केही पनि लछार्न सक्दैन, ह्याउ पुग्छ भने तँ गएर भन्न जा ।”
यति भनेर न्यौपाने फेरि च्युँडो घुँडामा जोतेर बस्छ । ठिक त्यति खेर शकुन्तलाका आँखाका कुन र ओठका कुनामा एउटा छरितो हाँसो अति छिटो खेलेर भाग्छ । ऊ भात तताएर पस्कन्छे र भन्छे, “ल भात खानुस्, नरिसाउनुस् ।” आज परिवारमा स्थिति असामान्य छ । एउटा छरितो हाँसो खेल्न त खेल्यो शकुन्तलाको ओठ र आँखामा तर मनमा अर्कै–अर्कै पैह्रो गएको छ । भात खाएर न्यौपाने सधैँझैँ छोराको छेउमा गुडुल्किन्छ । शकुन्तला निस्क्रिय छे एकदम । उसको कान आज ठाडो छैन ऐजन आदेश सुन्नलाई । केही बेरपछि भूतप्रेतको कथाको जस्तै त्यो आवाज आउँछ, “ए बाहुन अलि चनाखो…।”
आज “हस् हजुर” भन्ने फिर्ती जवाफ जाँदैन ।
“निदायो कि क्या यो न्यौपाने खलक ?”
यता फेरि मौन ।
गनगन गर्दै हाकिमनीले झ्याल जोडले लगाई । यतापट्टि विस्तारै भए पनि झ्याल बन्द भएन । शकुन्तला सोच्न थालेकी छे, उसको आजभोलि जीवनको एकरसता कति बिथोलियो ।
(‘पारिजातका प्रतिनिधि कथाहरू’बाट ।)






