काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर प्रभावित भएका नागरिकहरुको उद्धार, राहत र पुनर्स्थापनाको लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले आर्थिक सहयोग गरेको छ ।
समाजका पदाधिकारीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री राहत कोषमा दुई लाख १ हजार १०१ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सप्तरंगी इन्द्रेणी बौद्ध समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
उक्त अवसरमा बौद्ध लामाहरुले अहिलेको महाविपत्ति संकटबाट देशलाई पार लगाउन मन्त्रोच्चारणसहित आर्शिवाद दिनुभएको थियो । मन्त्री श्रेष्ठले देश संकटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद दिनुभएको थियो । सरकार र सरोकारवाला सबै नागरिकको प्रयासले देश चाँडै संकटबाट निस्किने विश्वास उहाँले दिलाउनुभयो ।





