बाढी पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले राहत र उद्धारलाई तीव्रता दिएको छ : मुख्यमन्त्री मगर

काठमाडौँ, २२ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हालै आएको बाढी पहिरो तथा महाविपत्तिबाट प्रभावित क्षेत्रहरूमा प्रदेश सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाको   कामलाई तीव्रता दिएको बताएका छन् ।

आज काठमाडौँस्थित प्रदेश सुशासन केन्द्रको हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले बागमती प्रदेशका विशेष गरी चार जिल्ला-रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा पालिकाहरू बाढी पहिरोबाट बढी प्रभावित भएको जानकारी दिए ।

उनले भदौ १० गते बिहान ८ः ४६ बजे रसुवाको लेन्दे नजिकै हिमनदी फुटेर आएको भीषण बाढीका कारण ठुलो क्षति पुगेको बताए । रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । तीमध्ये गोसाईंकुण्ड र उत्तर गयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारणको समेत ज्यान जाने गरी ठुलो मानवीय र भौतिक क्षति भएको छ ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि क्षति पुगेको छ । मुख्यमन्त्री थापाले बाढी पहिरोका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित भएको, ६६२ मेगावाटभन्दा बढी क्षमताका ६ वटा हाइड्रोपावरहरू बन्द तथा क्षतिग्रस्त भएको र खर्बौँको भौतिक क्षति भएको जानकारी दिए । 

विपत्ति लगतै १० गते बिहान ११ बजे नै प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बसेर उद्धारमा टोली खटाइएको मुख्यमन्त्री थापाले बताए । उनी स्वयम् ४ बजे नुवाकोटको बट्टार पुगेर चार वटा प्रादेशिक अस्पतालका १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसहित हेल्थ क्याम्प सञ्चालन गराएका थिए । अवरुद्ध बनेका सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिए । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

काठमाडौँ, २२ भदौ । धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक

काठमाडौँ, २२ भदौ । पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु

काठमाडौँ, २२ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय