काठमाडौँ, ४ असार । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, सल्लिचोकस्थित एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका मृत्यु हुनेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका–९ घर भई हाल भेरीगंगामा बसोबास गर्ने अन्दाजी ३८/३९ वर्षीय लोकबहादुर डाँगी रहेका छन् । उनको मृत्युलाई शङ्कास्पद रुपमा हेरिएको छ ।
मंगलबार राति साढे १० बजे भेरीगंगा–१२ बस्ने ३० वर्षीय राकेश सुनारले स्थानीय न्यू जाजरकोटी धर्मा शक्ति एन्ड लजको कोठा नम्बर ३ भाडामा लिएर बसेका थिए । सोही कोठामा राकेशले बुधबार बिहान साढे ४ बजेतिर मृतक लोकबहादुरलाई बोलाएका थिए । हिजो बेलुका साढे ५ बजेतिर होटल सञ्चालक मानबहादुर खड्काकी छोरी मंगला कोठा चेकजाँच गर्न जादा डाँगी अचेत अवस्थामा कोठाभित्र फेला परेकाे थिइन् ।
त्यसपछि डाँगीलाई तत्काल उद्धार गरी छिन्चुस्थित गणेश मेडिकलमा सामान्य उपचार गरियो । थप उपचारका लागि वडाअध्यक्ष रामबहादुर डाँगीको पहलमा उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याइयो ।
अस्पताल पुर्याएलगत्तै बेलुका साढे ६ बजेतिर चिकित्सकले डाँगीलाई मृत घोषणा गरेको थियो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले घटनालाई शङ्कास्पद मान्दै अनुसन्धानका लागि सोही कोठामा बसेका ३० वर्षीय राकेशलाई पक्राउ गरेको छ । राकेशलाई अहिले इलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भइरहेको छ ।






