काठमाडौँ, ११ जेठ । हवाई इन्धनको मूल्यवृद्धि र सोही कारण टिकटको भाउ बढ्दा आन्तरिक उडानमा यात्रुको संख्या घटेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा कुल आन्तरिक हवाई यात्रु संख्या ३ लाख १७ हजार ९ सय ५४ छ । अघिल्लो महिना मार्चमा आन्तरिक उडानका यात्रु संख्या ३ लाख ३५ हजार ६ज सय ८३ थियो ।
वायुसेवा कम्पनीहरूका अनुसार इन्धन मूल्य बढेपछि हवाई भाडा महँगिदा त्यसको असर यात्रु संख्यामा देखिएको हो ।
विमानस्थल कार्यालयका अनुसार अप्रिलमा १ लाख ६० हजार ६ सय १ आन्तरिक उडानका यात्रु काठमाडौँबाट प्रस्थान गरेका छन् । १ लाख ५७ हजार ३ सय ५३ यात्रु काठमाडौँ भित्रिएका छन् ।
यस महिना कुल ४ हजार २ सय ७२ आन्तरिक उडान र ४ हजार २ सय ७० अवतरण भएको तथ्यांक छ । आन्तरिक उडानतर्फ बुद्ध एयरले एक महिनामा १ लाख ७२ हजार ८ सय ७६ यात्रुलाई सेवा दिएको छ । यती एयरलाइन्सले ७१ हजार २७ यात्रुलाई सेवा दिएको छ । तेस्रो स्थानमा रहेको श्री एयरलाइन्सले ५३ हजार ५ सय २१ यात्रुलाई सेवा दिएको कार्यालयको तथ्यांक छ ।
त्यस्तै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने एक महिनामा मात्र १ हजार १ सय ४८ यात्रुलाई सेवा दिएको छ । समिट एयरले ५ हजार ६३ यात्रु बोकेको तथ्यांक छ । तारा एयरले ३ हजार ६ज सय ९१ र सीता एयरले २ हजार ६ज सय ४६ यात्रुलाई सेवा दिएको छ ।






