काठमाडौँ, ८ जेठ । हेटौँडा– काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, सिखरकटेरीमा शनिबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका निम्ति हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
स्कुटरलाई ठक्कर दिने बस र चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका–२ का ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






