काठमाडौँ, ९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रसँग सम्बन्धित वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा सङ्घीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध नगर्ने स्पष्ट पारेका छन् ।
नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले प्रदेश सरकार आफ्नै सञ्चार नीति, कार्यक्रम र प्राथमिकताका आधारमा अघि बढ्ने बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया–मैत्री रहेको उल्लेख गर्दै लोकतन्त्र सुदृढ बनाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए । निरङ्कुश शासनविरुद्धका आन्दोलनमा मिडियाले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै उनले बजेट निर्माणका क्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखिएको प्रष्ट पारे ।
प्रधानमन्त्रीसँगको भेटमा मिडिया क्षेत्रका समस्या र सरकारी विज्ञापनसम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण गराइसकेको जानकारी दिँदै उनले प्रदेशका सबै सञ्चार माध्यमको सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, प्रमुख सचिव कृष्णप्रसाद काप्री लगायतले पनि धारणा राखेका थिए ।






