काठमाडौँ, ९ बैशाख । कञ्चनपुरको महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले आज दिउँसो उनको शव फेला पारेको हो । भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा मंगलबार साँझ पौडी खेल्ने क्रममा अछामको साँफेबगर नगरपालिका–९ बुढाकोटका २५ वर्षीय मनिष कुँवर बेपत्ता भएका थिए ।
उनलाई सशस्त्र प्रहरीको नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको गोताखोर टोलीले खोजी गर्ने क्रममा फेला पारेको हो । कुँवर सुदूरपश्चिम विश्वविद्यालयको कानुन सङ्कायमा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । मंगलबार साँझ साथीहरूसँगै नदीमा पौडी खेल्न गएका उनी अचानक डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भए लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली खोजी कार्यमा जुटेको थियो । हिजो साँझदेखि नै खोजी कार्य जारी राखिएकोमा आज गोताखोर टोलीले उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






