काठमाडौँ, ४ बैशाख । बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज दिउँसो सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चौडी सडकखण्डमा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चारजना घाइते भएका थिए ।
सुर्नया–८ का मोटरसाइल चालकसमेत रहेका ३४ वर्षीय जनक लुहारको मृत्यु भएको हो । श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ – ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी पुर्चौडी–५ का २४ वर्षीय मोटरसाइल चालक अमिर कडायत, सोहीका वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन् ।
घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।






