काठमाडौँ, ४ बैशाख । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले ५०० दरका २८ वटा नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई ठमेलस्थित सूर्य हेरिटेज होटल नजिकैबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रौतहटको फूलबारी घर भई हाल ललितपुरको चापागाउँ बस्ने ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई हाल ललितपुरकै इमाडोल बस्ने २४ वर्षीय शिव घिसिङ रहेका छन् ।
प्रहरीले पाख्रिनको साथबाट ५०० दरका २७ वटा र घिसिङको साथबाट १ वटा गरी कुल २८ वटा नक्कली नेपाली नोट बरामद गरेको छ। प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको छ ।






