काठमाडौँ, २१ असार । बीपी राजमार्गमा भोलिदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो । रातमा साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न पछिल्लो निर्णय गरिएको हो । यसअघि गएको असार ६ गते काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बीपी राजमार्गमा असार ७ गतेदेखि रातमा झण्डै १० घण्टा १५ दिनका लागि रोक लगाएको थियो ।





