काठमाडौँ, १० माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले आफूले जोडबल गरिरहेको राष्ट्रिय सहमतिको विषय आफ्नो स्वार्थसँग नजोडिने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा तीन कारणले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख उल्लेख गरे ।
“मैले सहमतिको कुुरा गर्दै आएँ । अहिलेको कुरा होइन, मैले सहमतिको कुरा गर्दा आफ्नो स्वार्थका लागि खोजेको भन्ने अर्थ लाग्ला । तर, म पहिलोदेखि नै यसको पक्षमा हुँ,” उनले भने, “तीन कारणले राष्ट्रिय सहमति आवश्यक छ । कमसल आर्थिक अवस्था, दोस्रो– भूराजनीतिक दबाब र शान्ति प्रक्रियालाई पूर्णता दिन ।”
नेता पौडेलले थपे, “अहिले नेपाली आकाशमाथि नयाँ किसिमको शीतयुद्ध मडारिएको छ । हिजो युरोपमा यस्तो शीतयुद्ध मडारिएको थियो । अहिले हाम्रो हिमालमा मडारिएको छ । शान्ति प्रक्रिया अझै पूर्ण भएको छैन । १२ वर्षे द्वन्द्वले घाउपरेको छ । चोट लागेको छ । यसलाई पूरा गर्नु हाम्रो कर्तव्य हो । देशमा सुशासनभन्दा कुशासन छ । त्यसकारण राष्ट्रिय सहमति आवश्यक छ ।”
उनले निर्मम भएर खर्च कटौतीमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि कांग्रेस–कम्युनिस्ट एक हुनुको विकल्प नभएको भनाइ उनको थियो । “यो संविधान फ्याँक्न अनेक प्रयत्न भएको छ । यो व्यवस्था बचाउन र संविधान बचाउन कांग्रेस र कम्युनिस्ट एक ठाउँमा हुने किन नहुने ?” उनले भने, “अराजकता र अस्थिरता बचाउने कि नबचाउने ? अति दलबन्दी र पूर्वाग्रहबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । भित्री र बाहिर सत्ताको खेलबाट लोकतन्त्र खतरामा छ । हामी देश बनाउन एक ठाउँमा जुटौँ । आकाशबाट निराशाको बादल हटाउन एक बनौँ ।”






