काठमाडौँ, २१ साउन । हामीले खाने, मकै र अरु खाद्यान्नको साथै हरियो सागसब्जी र फलफूल कहाँ र कसरी फल्छ भनेर देखाउन उज्ज्वल तारा स्कुल काँडाघारीका एकदेखि ४ कक्षासम्मका साना केटाकेटीलाई तरकारी बारीमै लगिएको छ ।

विद्यालयकी संस्थापक अध्यक्ष गायत्री कार्कीको नेतृत्वमा सम्वन्धित कक्षाका कक्षा र विषयगत शिक्षिकाको साथ लगाएर ती केटाकेटीलाई कागेश्वरी मनोहरा नगरपालिका ९ काडाँघारीस्थित चर्खा प्रचारक गान्धी—तुलसी स्मारक गुठी परिसरमा रहेको अर्गानिक कृषि खेतीको अवलोकन गर्न लगिएको हो ।

त्यहाँ उनीहरुलाई धान, मकै, भटमास, सीमी, बोडी, हरियो खुर्सानी, रायो साग तोरी लगायत फलफूल (भोगटे) कसरी फल्छ, त्यसमा के कस्ता मलको प्रयोग गरिन्छ, वर्षातको मौसममा कसरी जोगाइन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान दिइएको थियो । ‘हामी र हाम्रो खाना’ शिर्षक राखेर उनीहरुलाई व्यवहारिक ज्ञान दिन खेतमा लगिएको विद्यालयकी संस्थापक अध्यक्ष गायत्री कार्कीले बताइन ।

प्याकेटमा बेचिने जंक फूडलाई निरुत्साहित गर्दै अर्गानिक खानेकुरालाई प्रोत्साहन गर्न पनि यस्ता व्यवहारिक ज्ञानले सघाउने विद्यालयको भनाई छ ।






