काठमाडौँ, १० कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
आज बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऊर्जा र अनुभवको संयोजनसहित जनतामाझ जानुपर्ने बताए ।
उनले भने, ‘पार्टीभित्रको प्रतिस्पर्धालाई आम चुनावजस्तो जित्नेले सबै जित्यो र हार्ने बाहिरियो भन्ने रूपमा लिनुहुँदैन,’ जित्नेले हस्तिनापुर पाएको र हार्नेचाहिँ सकियो भन्ने सोच गलत हो । पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ । प्रतिस्पर्धामा पछि परेका योग्य साथीहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्छ ।’ ‘बरु बाहिरको मान्छेलाई सहन सक्ने, आफ्नै पार्टीभित्रको साथीलाई सहन नसक्ने, सँगै बस्न र सोच्न नसक्ने यो परिपाटीलाई हामीले पूर्ण रूपमा बदल्नुपर्छ,’ ‘संस्थागत गुटहरू अब सकिएका छन्, अब सम्बन्धहरूमा रहेको कटुता पनि मेट्नुपर्छ ।’
नेपाली कांग्रेसमा अहिले २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ क्रियाशील रहेको उल्लेख गर्दै उनले यसलाई पार्टीको अलौकिक पुँजी भएको बताए । उनले भने, ‘नेपाल अहिले इतिहासमै पहिलो पटक सबैभन्दा बढी युवा भएको तन्नेरी अवस्थामा छ,’ ‘अबको २७–२८ वर्षपछि नेपाल पनि जापानजस्तै बुढ्यौलीतर्फ जान्छ । हामीसँग पुरानो पुस्ताको ज्ञान र अनुभव छ । साथै नयाँ पुस्ताको ऊर्जा छ । अनुभव र ऊर्जाको यो सही संयोजनलाई हामीले व्यवस्थापन गर्न सक्नुपर्छ ।’ ‘फलानो मान्छे वर्षौंदेखि कांग्रेस थियो, तर यो पटक उसले भोट हालेन । उसलाई गालीगलौज गरेर हुँदैन, मत छान्ने अधिकार उसको हो,’ ‘हामी उसको घरमै जानुपर्छ, भेट्नुपर्छ र उसका कुरा सुन्नुपर्छ । उसले कांग्रेस छोड्नुको गुनासो सुन्ने र उसका प्रत्येक प्रश्नको जवाफ दिने तागत आजको कांग्रेसले राख्छ ।’







