‘विद्यार्थीको जिम्मा विद्यालयको मात्रै होइन, अभिभावकको पनि हो’
काठमाडौँ, १५ साउन । बलराम प्यासी । पछिल्लो समयमा अभिभावकले आफ्नो घरमा छोराछोरीलाई समय दिन नसक्ने र तह लगाउन पनि नसक्ने अनि छोराछोरी पढेनन, मोवाइल मात्रै चलाए, विग्रिए भनेर विद्यालयलाई मात्रै दोष थोपर्ने क्रम बढ्न थालेपछि राजधानीको एउटा विद्यालयले नयाँ जुक्ति निकालेको छ ।
विद्यालयमा आफ्ना छोराछोरीको शुल्क तिरेकै भरमा अभिभावकहरुको अनावश्यक गुनासाहरु बढ्न थालेपछि पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी (करियर स्कुल) ले नयाँ जुक्ति निकालेको हो ।
जस अनुसार विद्यालयबाट साँझ घर फर्केपछि भोलिपल्टको विहान विद्यालय आउञ्जेलसम्म विद्यार्थीले घरमा कुनकुन समयमा के के गर्छ, उसलाई अभिभावकले प्रत्यक्ष निगरानी गर्नुपर्छ, नत्र विद्यालयले अभिभावकलाई कक्षाकोठाबाटै तत्काल टेलिफोन गरेर बुझ्नसक्छ ।

विद्यालयबाट घरमा पुगेदेखि खाजा खाने, गृहकार्य गर्ने, टेलिजिभन हेर्ने र रातीको खाना खाएर १० बजे सुत्ने र भोलिपल्ट विहान ५ बजे उठेदेखि विद्यालय आउञ्जेलसम्मको समयमा विद्यार्थीको कोर्ष र अन्य सन्दर्भ पुस्तक नियमित पढ्ने बानी बसाल्न विद्यालयले साउनको पहिलो सातादेखि ‘विद्यार्थी—अभिभावक छड्के जाँच’ शुरु गरेको हो ।
विद्यार्थीले घरमा गरेको गृहकार्य, पढेको, खाना खाएदेखि मोवाइल र ल्यापटप चलाएको र टेलिजिभन हेरेको समय विद्यार्थीबाट व्यक्तिगत रुपमा बुझिसकेपछि त्यसको छड्के जाँच विद्यालयले कक्षाकोठाबाटै सम्वन्धित विद्यार्थीको अभिभावकसंग बुझ्न थालेको हो । यसो गर्दा विद्यार्थीले झुटो बोले नबोलेको कक्षाका सबै साथीहरुले थाहा पाउनुको साथै उसले अनावश्यक रुपमा मोवाइलमा सामाजिक सञ्जाल चलाउन नपाउने र उसको पढ्ने बानीको विकास हुने विद्यालयको दावी छ ।
पछिल्लो समयमा विद्यालयबाट घर पुग्ने वित्तिक्कै विद्यार्थीहरु किताबको झोला एकातिर फालेर मोवाइल र ल्यापटपदेखि टेलिभिजनमा व्यस्त भएर गृहकार्य पनि नगर्ने र उनीहरुको पढ्ने बानी पनि क्रमशः हराउन थालेपछि करियर स्कुलले नेपालमै पहिलोपल्ट यो जुक्ति निकालेको प्रिन्सिपल हेम राईले बताउनुभयो । उहाँका अनुसार हाल ३ देखि ९ कक्षाका विद्यार्थीमा यो अनुगमन गरिने छ । १० कक्षाका विद्यार्थी भने अधिकाँस समय विद्यालय र विद्यालयकै होस्टेलमा बस्ने गरेको कारण उनीहरुको पढाई र खेल्ने तालीका निर्धारित छ ।

प्रिन्सिपल राईका अनुसार ‘विद्यालयमा अनुशासनमा बसेर पढेजस्तै घरमा पनि अभिभावकले आफ्ना छोराछोरीलाई प्रत्यक्ष निगरानीमा राखेर पढाउने हो र मोवाइल, ल्यापटप र टेलिजिभन निश्चित समय मात्रै चलाउन र हेर्न दिने हो भने विद्यार्थीको पढाई अहिलेको भन्दा निकै सुध्रिन्छ ।’
‘विद्यार्थीको पढाईको जिम्मा स्कुलको जति छ, घरमा अभिभावकको पनि त्यतिकै हुनुपर्छ, नत्र हरकुरामा विद्यालयलाई मात्रै दोष लगाएर अभिभावक पन्छिन मिल्दैन’ विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले भन्नुभयो—‘तर अभिभावकले घरमा आफ्ना छोराछोरीलाई समय नदिने मात्रै हैन, घरमा पुगेपछि आफैं मोवाइलमा व्यस्त हुने र छोराछारेलाई खासै चासो दिएको पाइन्न ।’
विद्यालय र कलेज पढ्ने छोराछोरीको व्यक्तिगत गोपनियता भन्दै उनीहरुलाई घर या डेरामा छुट्टै कोठा दिने गर्नाले पनि छोराछोरीले पढीरहेका छन या अरु केही गरिराखेका छन भन्ने कुरा अभिभावकले समयमै चासो नराख्दा पछिल्लो समयमा साइबर अपराध लगायत आत्महत्याका घटनामा समेत वृद्धि भएको प्रहरीको अनुमान छ ।

यस्तै कुरालाई मध्यनजर गर्दै करियर स्कुलले शुरु गरेको यो नौलो कामले विद्यार्थीहरु विद्यालयमा जस्तै घरमा पनि अनुशासनमा बसेर पढ्ने र फुर्सद हुने वितिक्कै मोवाइलमा झुम्मिने बानी हट्ने कुरामा दुईमत नभएको शिक्षावीद्हरु बताउँछन ।
मंगलबार मात्रै सञ्चारकर्मीको उपस्थितिमा विद्यालयका प्रिन्सिपल हेम राईले सो विद्यालयको कक्षा ८ का विद्यार्थीहरु प्राप्ति बजगाई, आश्रीक पाठक र सेनिश थापामगरसंग उनीहरुले घरपुगेपछि गरेका कार्य उनीहरुसंग र उनीहरुका अभिभावकहरुसंग नमुनाको रुपमा कक्षा कोठाबाटै मोवाइलबाट फोन गरि छड्के जाँच गर्नुभएको थियो ।
एक महिनाको अभ्यासपछि यसकार्यको जिम्मा सम्वन्धित कक्षा शिक्षक या विषय शिक्षकलाई दिइने पनि प्रिन्सिपल राईले बताउनुभयो ।








