काठमाडौँ, ९ कार्तिक । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् ।
हमालले सामाजिक सञ्जालमा लेख्दै नेपालले लामो समयदेखि लिँदै आएको परराष्ट्र नीतिको मर्ममा अर्थमन्त्रीको अभिव्यक्तिले असर पार्ने उल्लेख गरेका छन् । हमालले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको विषय बनाइन नहुने धारणा पनि व्यक्त गरेका छन्।
उनले कुनै पनि मन्त्री वा पदाधिकारीले व्यक्तिगत धारणा अथवा राजनीतिक स्वार्थका आधारमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिन नहुने बताएका छन्।
उनले भनेका छन्, ‘नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तहरूमा आधारित रहँदै आएको छ। यो कुनै व्यक्तिको स्वेच्छा वा तत्कालीन राजनीतिक स्वार्थअनुसार सञ्चालन हुने विषय हुनु हुँदैन,’ । उनले नेपाल–भारत सम्बन्धको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक महत्त्वलाई स्वीकार गर्दै छिमेकीसँगको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
तर, सम्बन्ध विस्तार गर्ने क्रममा नेपालको राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ छ । ‘नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जरा गाडेर बसेको छ। यस सम्बन्धलाई अझ सुदृढ बनाउनु स्वाभाविक मात्र होइन, आवश्यक पनि छ,’ हमालले भनेका छन् ।
उनले छिमेकी मुलुकसँगको सम्बन्ध बलियो बनाउने इमानदार प्रयासको स्वागत गर्नुपर्ने उल्लेख गर्दै नेपाली प्रतिनिधिहरूले आफ्नो राष्ट्रिय अडानलाई गरिमा, सन्तुलन र परिपक्वताका साथ प्रस्तुत गर्नुपर्ने उल्लेख गरे । ‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त महत्त्वपूर्ण र रणनीतिक दृष्टिले यति संवेदनशील छ कि यसलाई व्यक्तिगत चाकरीका प्रदर्शन वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिहरूमा सीमित गर्न मिल्दैन,’ उनको भनाइ छ।
हमालले छिमेकीसँगको मित्रता र राष्ट्रिय सार्वभौमिकताको रक्षा एकअर्काका विरोधी नभई परिपूरक दायित्व भएको उल्लेख गरेका छन् । ‘छिमेकी राष्ट्रहरूसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको अडिग प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका पूरक दायित्व हुन्,’ उनले भनेका छन् ।







