काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ ।
नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा बजार बन्द भएको छ । समयको सुरुवाती चरणमा वृद्धि देखिए पनि अन्तिम प्रहरसम्म आइपुग्दा नेप्से रातो हुन पुगेको हो । दसैँ बिदापछि पहिलो दिन खुलेको बजारमा यो गिरावट देखिएको हो ।
आज बजारमा कुल ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच भएका छन् । दिनभरमा कुल ३८ हजार ७८८ पटकको कारोबारबाट ४ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये ९९ कम्पनीको मूल्य बढेको छ । १७१ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ । सामान्य अंकले घटेको बजारमा पनि केही कम्पनीको सेयर मूल्यमा भने उत्साहजनक वृद्धि देखिएको छ। आज बेनी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक नाफा कमाएका छन् । यो कम्पनीको मूल्य १४.९९ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा चिर्खाखोला जलविद्युतको अग्रस्थानमा रहेको छ। यस कम्पनीको सेयर मूल्य ७.९२ प्रतिशतले घटेको छ ।







