काठमाडौँ, १८ असोज । कञ्चनपुरमा प्रहरीले मध्यराति जुवाखालमा छापा हानेको छ । प्रहरीले छापा हानेपछि जुवाडेहरूबीच भागाभाग भएको छ भने केहीले कार तथा मोटरसाइकलसमेत घटनास्थलमै छाडेर भागेका छन् ।
पुनर्वास नगरपालिका–१ पुरैनास्थित कच्ची सडकखण्डमा त्रिपाल ओछ्याएर ठूलो रकमको जुवा भइरहेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले राति करिब २ बजे छापा हानेको हो ।
प्रहरीका अनुसार छापा मार्ने क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको छ । ठूलो संख्यामा रहेका अन्य जुवाडेहरू भने प्रहरी टोली आएको थाहा पाएपछि भागेका थिए ।
पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका जगतबहादुर धामी, धनगढी उपमहानगरपालिका–४ का विक्रम विष्ट, धनगढी–१२ जुगेडाका प्रेमबहादुर सिंह, बझाङको बुंगल नगरपालिका–११ का कृष्ण बाहेरा र पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सुरेश तामाङ रहेका छन् ।
उनीहरूको साथबाट २० हजार ९१० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखिएको छ ।
प्रहरीका अनुसार जुवाखाल सञ्चालन भइरहेको स्थानबाट चार वटा कार, दुई वटा स्कुटर र नौ वटा मोटरसाइकलसमेत फेला परेका छन् । प्रहरी टोली पुगेपछि अन्य जुवाडेहरूले आफ्ना सवारीसाधनसमेत घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ ।







