काठमाडौँ, १८ असोज । परराष्ट्र मन्त्रालयले बाँकी रहेका नौ देशका लागि दसैँपछि राजदूत नियुक्त गर्ने भएको छ ।
सरकारले यसअघि विज्ञतर्फबाट विभिन्न १३ वटा देशका लागि १३ जनाको नाम सिफारिस गरिसकेको छ । अब बाँकी रहेका नौ देशका राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । रसिया, अष्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टका नेपाली दूतावासमा राजदूतको पद रिक्त छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर क्षेत्रीका अनुसार राजदूत नियुक्तिको प्रक्रिया अघि बढिरहेको छ । ‘दसैँपछि नै हुनसक्छ । तर अहिले यति मात्र भन्न सकिन्छ, राजदूत नियुक्तिको कार्य प्रक्रियामा रहेको छ,’ उनले बताए ।
यी नौवटै दूतावासमा कर्मचारीतर्फबाट राजदूत थिए ।







