काठमाडौँ, १७ असोज । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दैअग्रजहरूले छोडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुख अर्यालले आफू सामान्य नागरिक भएकाले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न सधैँ तयार रहेको बताएका हुन् ।
उनले भने, ‘ललितपुर संस्कृति, सम्पदा र मन्दिरका लागि मात्र नभई देश निर्माण, संस्कृति र नेवारी भाषा जोगाउनका लागि योगदान दिने ठाउँ हो । यो देशमा सबैभन्दा बढी माटो कसैले चिनेको छ भने त्यो नेवारी र थारु समुदाय हो, जसले माटोसँगको सम्बन्ध विस्तार गरेको छ ।’
देशमा भएका विभिन्न राजनीतिक तथा गुठी आन्दोलनहरूमा उपत्यकावासी र नेवारी समुदायको महत्त्वपूर्ण योगदान रहेको उनले स्मरण गराए । अर्यालले थपे, ‘धादिङमा जन्मेको मान्छे, काठमाडौँ आउने क्रममा मेरो सुरुआती बसोबास ललितपुरको पाटनढोकामा भएको थियो । त्यसैले ललितपुरसँग मेरो छुट्टै सम्बन्ध छ । तपाईंहरूको माया र आशीर्वादले आज व्यवस्थापिकाको नेतृत्व गर्ने सौभाग्य मिलेको छ । म तपाईंहरूकै कामदारका रूपमा जिम्मेवारी पूरा गर्न यहाँ पुगेको हुँ ।’
आगामी सन्ततिको भविष्य निर्माण र सम्पदा बचाउन अझै धेरै कानुनी कामहरू गर्न बाँकी रहेको उल्लेख गर्दै उनले स्थानीय समस्यालाई कानुन निर्माणको तहसम्म पुर्याउन प्रतिबद्ध रहेको दोहोर्याए । साथै सभामुख अर्यालले ललितपुरको नेवारी संस्कृति, सम्पदा, सङ्ग्रहालय र खानाप्रतिको आफ्नो विशेष रुचि समेत व्यक्त गरे ।







