काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
जनमत पार्टीको आजदेखि सुरु भएको महाधिवेशनमा शुभकामना दिँदै उनले मधेसमा अधिकारका लागि थुप्रै सङ्घर्ष भएको र केही प्राप्त पनि भएको तर त्यो कार्यान्वयन भयो कि भएन भनेर समीक्षा हुन आवश्यक रहेको बताए । विगतको चुनावका बारेमा पनि समीक्षा हुनु आवश्यक रहेको बताउँदै उनले अब के गर्न सकिन्छ भन्नेतर्फ पनि गम्भीर समीक्षा हुनुपर्ने सुझाव दिए ।
उनले भने, ‘मधेसबाट राष्ट्रपति भए, अहिले प्रधानमन्त्री छन् तर मधेसी जनतामा आधारभूत परिवर्तन भयो कि भएन त्यसको बारेमा पनि समीक्षा गर्नुपर्ने बेला आएको छ ।’
उनले मधेसको छोरा प्रधानमन्त्री भएकै बेला मधेसको हितमा काम नहुँदा जनतामा असन्तुष्टि बढ्दै गएको बताए । उनले भने, ‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला मधेसमा आधा पनि विद्युत् पुगेको थिएन, पछि त्यसको विस्तारमा लागे र घरघरमा बत्ती बल्यो ।’







