काठमाडौँ, १७ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताएका छन् ।
प्राप्त उपलब्धिको रक्षाका लागि, अधिकार र पहिचानका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए । जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उनले नेपालमा अझै पनि मधेसी उत्पीडनमा रहेको धारणा राखे । अब आफ्नो अधिकारका लागि सबै मिलेर सङ्घर्ष गर्नुपर्ने बताउँदै उनले जनमत पार्टी र जसपा नेपालको धेरै कुरामा समानता रहेको धारणा राखे । यति समानता रहँदा पनि एक साथ किन नरहेको भन्दै उनले अब एक आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
उनले भने, ‘हामी आफ्नो अधिकार र पहिचानका लागि लड्छौँ, त्यसका लागि अग्रगामी मोर्चा गठन गरेको छौँ र एक साथ अगाडि बढ्ने प्रयास भइरहेको छ ।’ मधेस आठ जिल्लामा मात्र सीमित नरहेको भन्दै उनले मेचीदेखि महाकालीसम्मको भूभाग मधेस रहेको बताए ।
‘सरकार र तत्कालीन मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौतामा एक मधेस एक स्वायत्त प्रदेशको सम्झौता भयो । संविधानका लेखनदासहरूले मधेसीको हत्या गरेर संविधान लेखेका हुन्’ उनले भने, ‘जबरजस्ती मधेसलाई आठ जिल्लामा कायम गरिएको छ ।’







