काठमाडौँ, १७ असोज । जापानिज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको र तीमध्ये १३१ जनामा जापानीज इन्सेफलाइटिस (जेई) पुष्टि भएको हो ।
जेई सङ्क्रमणका कारण हालसम्म २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ । सङ्क्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ । हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई सङ्क्रमण पुष्टि भएको छ । अधिकांश सङ्क्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ ।
सरकारले प्रभावित जिल्लामा जेईविरुद्धको खोप अभियान जारी राखेको छ । हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा जेईविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । अभियानको लक्षित समूह ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मी रहेका छन् ।







