काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले हालैको बाढी र पहिरोबाट अति प्रभावित नुवाकोट र रसुवाका विभिन्न गाउँहरूको स्थलगत भ्रमण गरी पीडितहरूको अवस्थाबारे जानकारी लिएका छन् ।
भ्रमणपछि फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले विपद्को यस घडीमा सरकारको नेतृत्वदायी भूमिका र समाजको सामूहिक ऐक्यबद्धता आवश्यक रहेको बताए ।
भ्रमणका क्रममा भेटेको एउटा अनाथ बालकको कथा पनि सभापति थापाले भिडियो सन्देशमा सुनाएका हुन् । थापाका अनुसार जसले बाटो कहिले बन्छ ? भनेर सोधिरहेको थियो । ‘हामीले बाटो बिग्रिएकाले ममी–बाबा आउन नसक्नुभएको, बाटो बनेपछि आउनुहुन्छ भनेर उनलाई सम्झाएका छौँ, जबकि उनका आमा–बुबा र हजुरआमा सबै बाढीमा बितेका छन्,’ थापाले भिडियोमा भनेका छन् ।
त्यस्तै, देवीघाट र सेरखानीका स्थानीयहरूले आफ्ना आफन्तहरू सुरुङमा थुनिएको र जताततै शवको गन्ध आइरहेको भन्दै उद्धारका लागि गरेको हारगुहारले टोलीलाई स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् । कतिपयले आफ्नो जायजेथा र व्यवसाय सबै गुमाएर ‘सुकुम्वासी’ हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका छन् ।
थापाले केन्द्र सरकारको सीमित सहयोगका बाबजुद स्थानीय तहका जनप्रतिनिधिहरूले रातदिन खटेर गरेको कामको प्रशंसा भिडियोमा गरेका छन् । गल्छी, विदुर, कोलोनी, दुप्चे लगायतका वडा अध्यक्ष र स्थानीय नेताहरूले जोखिम मोलेर गरेको उद्धार र व्यवस्थापन प्रशंसनीय रहेको उनको भनाइ छ ।
साथै, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा र अन्य सांसदहरूले तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने, खानेपानीको समस्या सुल्झाउने र अस्थायी विद्यालय बनाउन देखाएको सक्रियताको पनि उनले चर्चा गरेका छन् ।






