काठमाडौँ, १८ भदौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले जलवायु सङ्कटको गम्भीरता देखाएको जनाउँदै विश्वको ध्यानाकर्षण गराएकी छन् ।
उनले आज तिमोर–लेस्तेको डिलीमा आयोजना भइरहेको अतिकम विकसित देशको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले चीनसँगको उत्तरी सीमानामा रहेको रसुवाको भोटेकोशी नदी क्षेत्रमा गएको विनाशकारी हिमचट्टानसहितको बाढी पहिरोका कारण अकल्पनीय जनधनको क्षति भएको बताइन् ।
उनले भनिन्, “यही भदौ १० मा गएको विपद्मा परी हालसम्म एक हजार २०६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने चार हजार २१६ भन्दाबढी नागरिक अझै बेपत्ता छन् । विपद्का कारण १५ हजार घरपरिवारका करिब ६० हजार मानिस विस्थापित भएका छन्”, “अतिकम विकसित मुलुकको मन्त्रिस्तरीय बैठकलाई आज यहाँ सम्बोधन गर्दै जलवायु सङ्कट सिर्जना गर्न नगण्य योगदान गरेका मुलुकले नै त्यसको सबैभन्दा ठूलो मार खेपिरहेकाले जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ ।”
उनले भोटेकोशी विपदबाट नेपालको इतिहासमै अभूतपूर्व र अकल्पनीय क्षति भएको उल्लेख गर्दै उनले ७४९ मेगावाट उत्पादन क्षमता भएका ११ वटा जलविद्युत् आयोजना, १०० भन्दाबढी पुल, ११८ वटा टेलिकम टावर र करिब १८७ किलोमिटर राष्ट्रिय राजमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिइन् ।
उनले भनिन्, “गैरआर्थिक क्षतिको गणना हुन बाँकी भए पनि त्यस्तो क्षति आर्थिक क्षतिको दुईदेखि तीनगुणासम्म हुनसक्ने र धेरैजसो क्षति अपूरणीय रहने अनुमान गरिएको छ”, “प्रारम्भिक अध्यानअनुसार चट्टान र बरफको पहिरो तथा त्यसलगत्तै नदीको बहाव थुनिएर एक्कासी फुट्दा विपद् आएको देखिएको छ ।”






