काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र रहेका आन्तरिक मतभेद र असन्तुष्टिहरूलाई राजनीतिक संवादमार्फत समाधान गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विशेष अपिल गरेका छन् ।
शुक्रबार अपिल जारी गर्दै महामन्त्री पौडेलले पार्टीका विवादहरू लिएर अदालत जाने वा सडकमा पोखिने कार्यले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउने बताए । उनले सबै असन्तुष्ट पक्षहरूलाई पार्टीको केन्द्रीय कार्यालय सानेपा आएर छलफल गर्न र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन आह्वान गरेका छन् ।
मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पौडेलले अहिलेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको संकेत गरेका छन् । प्रचण्ड बहुमतको सरकार भए पनि सत्तामा रहेकाहरूको गतिविधिले मुलुकलाई अनिश्चयको दिशामा लैजाने जोखिम रहेको उनको तर्क छ । ‘अहिलेको सरकारलाई खबरदारी पुगेन भने यसले देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजानेछ,’ अपिलमा उल्लेख छ ।
गत भदौ २३ र २४ गतेका घटनाक्रम र त्यसपछि विकसित परिस्थितिले मुलुक कठिन मोडमा पुगेको उल्लेख गर्दै पौडेलले कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिए । उनले लेखेका छन्, ‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन । त्यसैले सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन अपिल गर्दछु ।’






