बदलाको भावनालाई रोक्नुस्, एकअर्कालाई प्रेम र सम्मान गरौँ: प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे मंगलबार मध्यरातमा एक आह्वान गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन् ।

फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले भनेका छन्, ‘नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए ।

प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।

यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ । तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ ।

मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यहि हो ।

मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।

फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ साउन । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा

एजेन्सी, ११ साउन । डीआर कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या ३,२०० पुगेको छ भने कम्तीमा १,४०५ जनाको मृत्यु भइसकेको छ । मे

एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार