एजेन्सी, १२ साउन । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
सार्वजनिक गरिएको भिडियोमा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले प्रदर्शनकारीहरूको काफिला (सवारी) चिनार चोक हुँदै मकबूल भट शहीद चोक पुग्ने क्रममा सुरक्षा बलले गोली चलाएको आरोप लगाएका छन् । उनका अनुसार मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिर पनि छन् । अन्य मृतकहरू खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला, हवेली तथा दुई जना बलुच सहभागी रहेको उनको दाबी छ ।
उनले करिब दुई दर्जन प्रदर्शनकारी घाइते भएको बताउँदै विदेशमा रहेका कश्मीरी समुदायलाई घटनाबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन आग्रह गरे । उनले पाकिस्तानी दूतावास तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मानवअधिकार निकायसमक्ष विरोध जनाउन र आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन गर्न अपिल गरे ।





