काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन् ।
मन्त्री पाखरेलले बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताए । नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए । उक्त समितिले उत्तर पुस्तिकाको नमूना परीक्षण गर्नुका साथै परीक्षांक र ‘डेटा इन्ट्री’को रुजु गर्नेछ ।
“राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको हैन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो”, मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।





