काठमाडौँ, १० जेठ । जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरीबतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ ।
हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । शुक्रबार आएको हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको वडाध्यक्ष रावतको भनाइ छ ।
विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ । राष्ट्रिय लाइनको विद्युत् सेवा पुगेको छैन । सौर्य ऊर्जामै निर्भर रहेको विद्यालयमा अहिले ऊर्जाविहीन बनेको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले बताए ।





