काठमाडौँ, १० जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ ।
गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्दै प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्याउने लक्ष्यले विद्यार्थीलाई प्रोत्साहनस्वरुप ल्यापटप वितरण गरिएको बताए ।
यसले विद्यार्थीमा मिहिनेत, अनुशासन र लगनशीलताको विकासमा सहयोग पुग्ने उनले धारणा राखे । शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको उनले जानकारी दिए ।





