एजेन्सी, १४ पौष । सेनाबाट शासित म्यानमारमा पाँच वर्षमा पहिलो पटक निर्वाचन भएको छ ।
आइतबार मतदान केन्द्रहरूबाहिर मतदाताहरूको लामो लाइन देखियो । अत्यन्त कडा नियमअन्तर्गत देशको सैन्य सरकार यो चुनाव गराइरहेको छ । र, यसलाई देशमा मेलमिलाप र लोकतन्त्रको फिर्तीको बाटो भएको बताइरहको छ ।
पश्चिमी देशहरू र मानवअधिकार संगठनहरूले यो चुनावलाई केवल हात्तिको देखाउने दाँत मात्रै भएको बताउँछन् । यसको उद्देश्य सेनालाई गोप्य तरिकाले सत्तामा राख्नु हो । यी चुनावमा भाग लिने अधिकांश पार्टी सेनाका समर्थक मानिन्छन् ।
सन् २०२१ मा म्यानमारको शक्तिशाली सेनाले आङ सान सुचीको निर्वाचित सरकार हटाएर देशको सत्ता आफ्नो हातमा लिएको थियो । यो सत्तापलटपछि देशमा गृहयुद्ध सुरु भयो, जसमा हजारौँ मानिसको ज्यान गयो । लाखौँ बेघर भए । देशका अधिकांश भागमा अझै गृहयुद्ध चलिरहेको छ । विपक्षी समूहहरूले अहिले भइरहेको यो चुनावको बहिष्कारको अपिल गरेका छन् ।
यो चुनाव कति महत्वपूर्ण छ ?
एक महिनासम्म चल्ने यो चुनावलाई तीन चरणमा विभाजन गरिएको छ । आइतबार पहिलो चरणको मतदान भयो । स्थानीय समयअनुसार बिहान ६ बजे मतदान सुरु भएको थियो । म्यानमारका कुल ३३० टाउनशिपमध्ये १०३ मा पहिलो चरणमा मतदान भएको छ । यसमा राजधानी नेपिडोका साथै यांगुन र माण्डलेजस्ता सहरहरू पनि समावेश छन् ।
दोस्रो चरणमा ११ जनवरी र तेस्रो चरणमा २५ फेब्रुअरीमा मतदान हुनेछ । विद्रोहीहरूको कब्जामा रहेका क्षेत्रहरूमा मतदान हुने छैन । यो चुनावमा ५७ पार्टीका ४८ सय उमेदवार सहभागी छन् । तर, यसमा केवल ६ वटा पार्टीका उमेदवार मात्रै देशभर चुनावी मैदानमा छन् । यसमा सेनाका समर्थक युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी पनि समावेश छ । यही पार्टीले चुनाव जित्ने सम्भावना व्यक्त गरिएको छ ।
आङ सान सुची जेलमा छिन् । आम जनतामाझ अत्यन्त लोकप्रिय उनको पार्टी नेशनल लिग फर डेमोक्रेसीलाई २०२३ मा विघटन गरिएको थियो । यो पार्टीले चुनावमा भाग लिएको छैन ।
संयुक्त राष्ट्रसंघको आलोचना
सैन्य सरकारबाट पारित एक कानुनअन्तर्गत चुनावी प्रक्रियामा कुनै पनि व्यवधान खडा गर्न अनुमति छैन, जसमा विरोध प्रदर्शन र आलोचना पनि समावेश छ ।
नियमहरू उल्लंघनको आरोपमा पहिल्यै २०० भन्ला व्यक्तिविरुद्ध कानुनी कारबाही भइरहेको छ । गत हप्ता संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख फोल्कर टर्कले एक वक्तव्यमा भनेका थिए, “यो चुनाव स्पष्ट रूपमा हिंसा र दमनको वातावरणमा गराइँदैछ ।”
यसैबीच, म्यानमारका सेना प्रमुख मिन आङ ह्लाङले नेपिडोमा सेनाका अन्य अधिकारीहरूसँग आफ्नो मतदान गरेको समाचार एजेन्सी एएफपीले आइतबार बताएको छ ।
यस अवसरमा उनले पत्रकारहरूसँग भने, “हामी स्वतन्त्र र निष्पक्ष चुनावको ग्यारेन्टी गर्छौं । चुनाव सेना गराइरहेको छ र हामी आफ्नो नाम खराब हुन दिँदैनौँ ।” डीडब्ल्यू







