झापा, ३० कार्तिक । झापा जिल्लामा रगतको अभाव हुन थालेको छ ।
अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए ।
उनका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ । उनले साउन, भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ ।







