कृष्ण कुमारी खतिवडा
२१औं शताब्दीको मध्यमा पनि हाम्रो समाजको राक्षसीपनले जरा गाडेकै छ । चञ्चल कलिला मुनाहरू सजिलैसँग निमोठिइरहेका छन् । आमा हजुरआमा पनि सुरक्षित छैनन्, बलात्कार जस्ता जघन्य अपराधका भागिदार बनिरहेका छन् भने दिनानुदिन एकपछि अर्को हिंसाका सिकार बन्दै आएका छन् । महिलाहरू, पवित्र स्थान, आस्था र भक्तिको धरोहर मठ मन्दिरहरू पनि महिलाका लागि सुरक्षित छैनन् भने अन्य स्थान त सुरक्षित हुने कुरै भएन । साना नानीलाई बलात्कार गरि मारेर फालेको केशमा जनता सडकमा आउदा गोलि हानेर मारेको अवस्थामा बोक्सी प्रथा, दाइजो प्रथा, छाउपडी प्रथा इत्यादि प्रथाहरूबाट केवल महिलाहरूमात्र प्रताडित बनाइएका छन् । परापूर्वकालदेखि हालसम्म यही रीत कायम छ ।
कुप्रथा, कूरीति, कुविचार मौलाएको छ, प्यासी समाजका कलंकहरूले महिलाको नरसंहार गर्दै आएका छन्, लछारपछार गर्दै आएका छन्, मलमूत्र खुवाइरहेका छन्, बलात्कार गर्दै आएका छन् । आजको चेतनशील प्रजातान्त्रिक समयमा पनि पञ्चायत कालभन्दा दर्दनाक व्यवहार नारीहरूप्रति भइरहेको छ । लोकतन्त्र र गणतन्त्रमा पनि महिलाहरूप्रतिका आपराधिक गतिविधिले समाज गिर्दै गएको छ भन्ने हेक्का सबैमा हुनु आवश्यक छ । महिलाहरूले देशमा परिवर्तन ल्याउन महवपूर्ण भूमिका खेलेका थिए । यो कुरा सबैमा हेक्का हुनुपर्छ ।
एक समयको अन्तरालमा हरेक दिन महिलामाथि भएका हिंसाका खबरले हाम्रो समाज साच्चिकै चेतनशील प्राणीको समाज होइन जस्तो लाग्छ । दया, धर्म, करुणा, आस्था, संस्कार हराएर हिंसात्मक समाज सिर्जना भएको छ । हिजो मात्रै ६ वषकी नानीलाई बलत्कार गरि मारेको छ । असोज ७ गते सुदूरपश्चिमको बझाङ जिल्लामा १२ वर्षीया बालिकालाई गाउँकै शिव मन्दिरभित्र बलात्कार गरी हत्या गरेको अवस्थामा फेला परेको थियो भने सो बलात्कारीले गाउँका अन्य चेलीहरूलाई समेत बलात्कार गरेको आशंका उब्जिएको छ । त्यस्तै रौतहटमा १३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या गरेर गाउँकै उखुबारीमा फालेको थियो । त्यस्तै बझाङमा एक युवती आफ्नै श्रीमान्, ससुरा, नन्देभाइद्वारा पटकपटक बलात्कृत भएको घटना सार्वजनिक भएको थियो । एकपछि अर्को परिवार तथा समाजबाट बलात्कृत, त्यस्तै बलात्कारपछि निर्मम हत्याका घटनाले कलिला नानीहरू त्रसित भएका हुन्छन् भने उनीहरूको मनोबल र स्मरणशक्तिमा समेत ह्रास आइरहेको हुन्छ ।
यस्ता जघन्य अपराधले राष्ट्रलाई कति पनि छोएको छैन । बलात्कारका यस्ता घटना नियन्त्रण गर्न नसक्नु भनेको सरकाका लागि लज्जाको विषय हो । न्याय नपाएका निर्मला पन्तजस्ता कैयौं बालिकाका आत्माले देशलाई सरापिरहेको छ, उनको चित्कार जीवितै छ अझ पनि, बलात्कारपछि हत्या गरेर निर्मलालाई उखुबारीमा फालिएको दुई वर्षभन्दा बढी भइसक्यो छानविन हुन सकेको छैन् । जसका कारण बलात्कारीहरू झन् सल्बलाएका छन् । संविधान जारी भएको पाँच वर्ष बितिसक्यो महिलाका लागि तय गरिएका प्रवधान पनि कागजमै सीमित छन् ।
मापसे जाँच गरेर मदिरा सेवनबाट हुने घटना कम भएका छन् । यदि राज्यले चाहृयो भने यसैगरी अन्य अपराधलाई पनि रोक्न सकिन्छ । बलात्कारीका लागि त भारतमा जस्तै कडा कानुन ल्याउनुपर्दछ भन्ने सबैको चाहना रहिआएको छ ।
त्यस्तै सिराहामा ४५ जर्षीया मूर्तिदेवीलाई झाक्रीले भनेको भरमा बोक्सीको आरोप लगाई लछारपछार गर्दै गाउँकै शिव मन्दिरमा लगेर आफूलाई गाउँका पञ्चायती भन्नेहरूको अगुवाइमा केही समूहले लात्ती र मुक्का वर्षाउँदै घाइते तुल्याइयो अनि उनका श्रीमानकै अगाडि मलमूत्र खुवाइयो, दर्शकहरूले ताली बजाए, श्रीमान् निरीह बनेर हेरिरहे । मूर्तिदेवीका मुखको हड्डी भाँचिएर अस्पतालमा लामो समय उपचार गर्नुपरेको थियो जसले गर्दा ती महिला मनसिक रोगी बन्नपुगिन् । मधेसमा बोक्सीको आरोपले कतिपयले ज्यान गुमाइसकेका छन् भने कतिपय अंगभंग बनेका छन् त कोही डिप्रेशनको सिकार बनेका छन् ।
सम्पन्न परिवारभन्दा आर्थिक अवस्था कमजोर, विपन्न परिवारका महिलाहरूले बोक्सी प्रथाको सिकार बन्नुपरेको छ । समाजमा कुनै कुराको बदला लिन, रिस पोख्न बोक्सीको आरोप लगाउने गरेको पाइन्छ । कथंकदाचित पुरुष बोक्सीका सिकार भए पनि अधिकांश महिलालाई नै बोक्सीको सिकार बनाइन्छ । बोक्सी प्रथामा कानुनभन्दा समाजका अगुवाहरू हावी हुन्छन् । तिनले समाजमा बोक्सी हुन्छन् भन्ने मान्यता राख्दै आएका हुन्छन् । यस्ता प्रकारका कुप्रथाहरूको अन्त्य जबसम्म हुदैन् तबसम्म महिलाले यस्ता हर्कत खेप्नुपर्ने प्रष्ट छ ।
हुम्लामा परपुरुषसँग माया गरेको आरोपमा एक महिलालाई आफ्नै श्रीमानलगायत गाउँलेको एकजत्थाले जुत्ताको माला लगाएर गाउँ डुलायो, हातखुट्टा बाँधेर दिसा खुवाई निर्घात कुटपिट गरी मोसो लगाएर कपालसमेत मुण्डल ग¥यो । बच्चाहरू पछि पछि लागेर चिच्याइरहे तर कसैको मन पग्लेन् । उनी आफ्नो ज्यान जोगाउन प्रहरीको शरणमा गइन् र ज्यान जोगाइन सफल भइन् । यसरी एउटी नारीमाथिको यस्तो ज्यादतीले समाजमा भएका अन्य महिला निरीह भएर हेरिरहे, कसैले रोक्ने साहस गर्न सकेनन् ।
हाम्रो समाजमा विवाहित पुरुषले परस्त्रीसँग प्रेम गरेका प्रमाणहरू असंख्य छन् । घरकी मुर्गी दाल बराबर भन्दै इज्जतदार बनेर हिँडेका हुन्छन् । पुरुषहरूले परस्त्रीसँग प्रेम तथा सन्बन्ध राख्दा यस्ता किसिमका हिंसा पुरुषमा भएको कहिल्यै सुन्नमा आएको छैन् । यसको मतलब महिलाले यस्ता कुकर्म गर्न पाउनुपर्छ भन्न खोजिएको होइन । गल्ती गर्नेलाई कानुनी सजाय गर्नुपर्छ, तीमाथि कुटपिट र अमानवीय व्यवहार गर्नु हुँदैन भन्न खोजिएको मात्र हो । ती स्त्रीले परपुरुषसँग प्रेम गर्दा समाजबाट जुन प्रकारको सजाय पाउँछिन् तिनका प्रेमी पुरुषले अवस्यै त्यस्तो सजाय पाएका हुँदैनन् । पुरुषले चाहि किन सजाय नपाउने ?
बुटवलमा एक कामकाजी महिलाको स्कुटर प्रदर्शनकारीको जत्थाले खोस्यो र बलिरहेको टायर राखेर जलायो । ती महिलाले छोराको कपडा मोबाइल र अरू अत्यावश्यक समान निकाल्न हार गुहार गर्दा कसैले सुनेन । सबै रमिता हेरिरहे, दिन दहाडै सडकमा अपमान खेप्नु प(यो र हिंसा सहनु प¥यो ।
महासमिति सदस्य, नेपाली कांग्रेस






