रमेश पौडेल
विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण हाम्रो देश ८१ दिनदेखि बन्दाबन्दिको अवस्थामा छ । सबै क्षेत्र तहस नहस बनाईरहेको छ । अझ हाम्रो जस्तो सानो आकारको अर्थव्यवस्था भएको देशमा आर्थिक रूपमा त्यसको असर कतिसम्म परेको छ, भन्ने कुरा आउने दिनमा देखिने छ । अहिलेसम्म त सबैलाई कसरी बाच्ने भन्ने कुराको मात्र चिन्ता छ । यहि अवधिमा कोरोनाको संक्रमण पनि दिनानुदिन बढ्दै गैरहेको छ । कोरोनाका कारण जेष्ठ ४ गते पहिलो मृत्यु भएको घोषणा गरिएको थियो भने २९ गतेसम्म त्यो संख्या १५ पुगिसकेको छ । ४ हजार ६ सय १४ जनालाई संक्रमण पुष्टि भैसकेको छ । यस्तो विषम परिस्थितिसँग जुधिरहेको सरकारलाई आन्तरिक तथा बाह्य प्रतिगामी शक्तिहरु मिलेर घेराबन्दी गर्ने काम गर्दैछन् ।
भारतले अतिक्रमण गरेको हाम्रो भुमि फिर्ता लिनका लागि सरकारले अतिक्रमित भूभाग समेत समेटेर राजनैतिक नक्सा जारी गरि सोही नक्सा अनुसारको निशाना छाप संविधान संशोधन गरि परिवर्तन गर्दैछ । यो अवधिमा भारतीय तथा भारतका नेपाली एजेन्टहरुको विरोधको सामना गरेको प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार आफ्नो मिसनमा नडगमगाए पछि फेरि अहिले विभिन्न स्वार्थ केन्द्रबाट संचालित केही मानिसहरु समाजमा भ्रम छर्दै सरकारका विरुद्ध नाराबाजीमा लागिरहेका छन् । हो सरकार जनताप्रति उत्तरदायी हुनैपर्छ । जनताले तिरेको करबाट जम्मा भएको राज्यकोषको रकम खर्च गर्दा पारदर्शीता र मितव्ययिता अपनाउँनै पर्दछ । राज्यले गरेको खर्चको विवरण सम्पूर्ण नेपालीले जानकारी पाउनु पर्दछ । तर त्यसको लागि पनि त निश्चित प्रक्रिया र समय हुन्छ होला नी ? यदि कसैले अनियमितता गरेको छ भने त्यो छानबिनको विषय बनाउँनै पर्छ र अनियमितता भएको प्रमाणित भए निजलाई कठघरामा उभ्याइनुपर्दछ । तर यहाँ त दृश्य अर्कै देखिन थालेको छ । प्लेकार्ड एउटा बोकेका छन्, नारा अर्कै लागेको छ ।
हामी एकपटक कुनै ‘वाद’ कुनै विचार समुहतिर नढल्कि सोचौ त हाम्रो जस्तो सिमित स्रोत साधनबाट संचालित देशमा कोरोना विरुद्धको लडाईंमा सरकारको कामलाई कम आकलन गर्नु अन्याय हुनेछ । हुनत यहाँ सरकारले गरेका राम्रो कामको पक्षमा बोल्ने बित्तिकै सरकारी दलाली गर्यो केपी ओलीको देवत्वकरण गर्यो भन्ने आरोप खेप्नु पर्छ तर पनि भन्छु, सरकारको राम्रो कामको प्रशंसा गरौं र गलत कामलाई खबरदारी गरौं । यो बिचमा सरकारले गरेका काम प्रशंसायोग्य नै छन् । कोरोना परिक्षण गर्ने एउटा पनि प्रयोगशाला नभएको देशमा हाल २२ वटा प्रयोगशाला मार्फत जेष्ठ २९ गते सम्म १ लाख १५ हजार ९ सय ३० जनाको PCR Test भएको छ, १ लाख ७८ हजार १ सय ४३ जनाको RDT विधिबाट परिक्षण गरिसकिएको छ, १ लाख ६२ हजार १३ जनालाई निशुल्क क्वारेन्टाइनमा राखिएको छ, ३ हजार ७ सय ३८ जनालाई निशुल्क आईसोलेसनमा राखिएको छ । भर्खर प्रकाशित वल्डोमिटर्सको तथ्याङ्क अनुसार प्रति १० लाख जनसंख्यामा कोरोना संक्रमण परिक्षण दर (Testing rate) भारतको ३७८० रहेको छ भने नेपालको १० हजार १ सय ४ रहेको छ । जबकि कुल संक्रमितको आधारमा विश्वमा भारत चौथो र नेपाल ७४औं स्थानमा पर्दछ । यो तथ्याङ्क अनुसार पनि सरकारको कामकारबाही सन्तोषजनक नै देखिन्छ । र स्वास्थ्य मन्त्रालयले असार १५ गतेदेखि दैनिक १० हजार जनाको PCR Test गर्ने घोषणा गरिसकेको छ । यस्तो यथार्थ तथ्यलाई तोडमोड गर्दै भ्रम सृजना गरेर आफ्नो गलत अभिष्ट पुरा गर्न खोजिदैछ रु त्यसैले यो अवस्थामा सरकारलाई खबरदारी गर्दै रचनात्मक सहयोग गरौ ताकि कोरोना विरुद्धको लडाईंमा सफलता प्राप्त होस ।
कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गईरहेको छ र हाम्रो देश लकडाउन कै अवस्थामा छ । यस्तो बेलामा भिड जम्मा गरेर बाटो बाटोमा हिडदा संक्रमण फैलिने संभावना कस्तो रहला ? के ति सडकमा निस्किएका जमातले सो कुरामा ध्यान दिनु पर्दैन ? कि केपी ओलीको र यो सरकारको विरोध गर्दा कोरोना संक्रमण सर्दैन ! अनि नबुझिएको कुरा यो विरोध के का लागि हो ? सरकारलाई जनताको स्वास्थ्य प्रति गम्भीर बनाउनका लागि खबरदारी होकी ? वर्तमान सरकार र हालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका बिरुद्ध हो ? या सरकारले गरेको अतिक्रमित भुमि फिर्ता ल्याउने राष्ट्रबादी भुमिका र अडानलाई विषयान्तर गर्नका लागि हो ? यदि भारतीय संचार माध्यमले प्रस्तुत गरे जस्तो हाम्रो अतिक्रमित भूभाग फिर्ता ल्याउने यो सरकारको योजना र अडानका विरुद्ध रचिएको षड्यन्त्र हो वा त्यो हुलले लामो समयदेखि नेपाली जनताले चलाएको आन्दोलन, त्याग र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा घाटमा लगेर सेलाइसकिएको राजतन्त्रका पक्षमा नाराबाजी गरेका हुन् ? यदि यो व्यवस्था र राष्ट्रवादी अडानका विरुद्ध रचिएको षड्यन्त्र हो भने हिजो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्राप्तिका निमित्त भुमिका खेलेका हामी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरु यो जमातको विरुद्धमा लाग्नुपर्ने दिन नआओस ।
केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल






